सरकारले सार्वजनिक यातायातका साधनमा जीपीएस जडान गर्ने भएको छ। पहिलो चरणमा १ सय यात्रु वाहक सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्न लागेको यातायात व्यबस्था विभाले जारी गरेको सूचनामा जनाएको छ ।

सार्वजनिक सवारी साधनहरूको गति तथा रूट लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले विभागको नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना, उप-समन्वय कार्यालय ले जीपीएस-भेहिकल ट्र्याकिङ सिस्टम विकास गरिसकेको र त्यसलाई कार्यान्यनको चरणमा लैजाँदैछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोहीअनुसार पहिलो चरणमा पाइलट रूट्स काठमाडौं-जनकपुर, काठमाडौं-विरगंज र काठमाडौं-पोखरामा चल्ने १ सय वटा सार्वजनिक यात्रुवाहक सवारी साधनमा निःशुल्क जीपीएस डिभाइस जडान गरी सञ्चालनमा ल्याई अध्ययन गर्न लागिएको हो।

ती रूटहरूमा यात्रुवाहक सवारीसाधन सञ्चालन गरिरहेका इच्छुक यातायात व्यवसायी तथा सवारीधनीहरूलाई आफ्नो सवारी साधन दर्ता गराई सवारीमा निःशुल्क जीपीएस ट्र्याकर डिभाइस जडान गराउन विभागले आह्वान गरेको छ ।

विभागले पहिला आउनेलाई प्राथमिकताका आधारमा र पेश गरेको कागतपत्रहरुको आधारमा निःशुल्क जीपीएस उपकरणहरु जडान गरिदिनेछ। यसका साथै निःशुल्क जीपीएस जडानका लागि यातायात व्यवसाय प्रमाणपत्र, सवारी दर्ता प्रमाणपत्र, सवारी चालकको परिचयपत्र (नेपाली नागरिकताको प्रमाणपत्र) र सवारी चालक अनुमति पत्र पेश गर्नुपर्नेछ ।

कागजातसहित काठमाडौंको मिनभवनमा रहेको विभागको कार्यालयमा, इमेल वा फोन नम्बरमा सम्पर्क गर्न सूचनामा भनिएको छ। स्मरण रहोस् यसअघि नै भारतबाट सामान ढुवानी गर्ने ठूला ट्रक तथा सवारी साधनहरुमा जीपीएस सिस्टम जडान गरिएको छ ।