चालकसँग तरकारीदेखि रकमसम्म घुस खाएको आरोपमा एक वर्षभित्र ६६ जना ट्राफिक प्रहरी आन्तरिक कारवाहीमा परेका छन् । तीमध्ये केहीले नसिहत पाएका छन् भने केही निलम्बनमा परेका छन् ।

“तरकारी बोकेका गाडीसँग तरकारी नै घुस खाएको पनि पाइयो,” ट्राफिक महाशाखाका एक उच्च अधिकारी भन्छन्, “चालकसँग सय रुपैयाँसम्म लिएको पनि पाइयो ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चालकले नियम मिच्दा ट्राफिकले पैसा लिएर छाडिदिएका कैयौं उजुरी महाशाखामा परेको छ । त्यस्ता उजुरीको छानविनपछि एक वर्षको अवधिमा ६६ जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।

अधिकांश ट्राफिक चालकसँग घूस खाएको अभियोगमा कारबाहीमा परेका हुन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको साउनयता २२ जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् भने ४४ जनाले नसिहत पाएका छन् ।

महाशाखाका अनुसार कारबाही पर्नेमा धेरैजसो कंलकी क्षेत्रमा खटिने प्रहरी छन् । त्यसैगरी नयाँ बसपार्क, कोटेश्वर, बौद्ध, स्वयम्भू, बल्खुलगायत विभिन्न प्रभागमा कार्यरत ६६ ट्राफिक प्रहरीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी मिङ्मार लामाले बताए ।

“हजारको हाराहारीमा ट्राफिक प्रहरी उपत्यकाभरमा कार्यरत छन् । तीमध्ये केही खराब आचरण भएका भेटिए,” उनले भने, “सडक नियम पालना गराउन बसेका ट्राफिक प्रहरीले नै नियम मिच्नेसँग हात मिलाए भने कारबाहीमा पर्छन् ।”

प्रत्येक ट्राफिक प्रहरी प्रभाग र मातहतका ट्राफिक प्रहरीको निगरानी गर्ने गरिएको र पैसा खाएको वा गलत काम गरेको थाहा भए कारबाही गरिने उनले बताए । सडकमा हिँड्दै गरेका बेला वा सवारी चलाएका बेला कुनै पनि ट्राफिक प्रहरीले गलत काम गरेको देखेमा १०३ नम्बरमा सम्पर्क गरिदिन समेत डीआईजी लामाको आग्रह छ ।