नेपाली कांग्रेसका नेता गगन थापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अनपेक्षित पराजय भोग्दा पनि पार्टीले समीक्षा नगर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

उनले केन्द्रीय समितिको बैठक बोलाएर अहिलेको निर्वाचनको समीक्षा गरेर कमीकमजोरी सुधार्ने अठोट नगर्दा आमकार्यकर्तामा निराशा र अन्योलता छाएको विचार व्यक्त गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता थापाले केन्द्रीय समितिमार्फत् कमजोरी र दोषी पहिचान गरी उनीहरूलाई सच्याउँदै तेस्रो चरणको निर्वाचनको तयारीमा तत्काल लाग्न माग गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै नेता थापाले आफू पार्टीको कार्यकारी जिम्मेवारीमा नरहेकाले आमनेपालीले अपेक्षा गरेअनुसार गर्न नपाएको स्पष्ट दाबी गरे ।

‘पार्टी भद्रगोल भयो, बवग्रियो तिमीहरूले के हेरेर बसेका छौ भन्दै धेरैजनाले चिन्ता व्यक्त गर्नुहुन्छ, तर पार्टीलाई राम्रोसँग चलाउने जिम्मेवारीमा जाने बेलामा भने उहाँहरूले नै बेला भएको छैन भन्नुभयो, अनि मैले के गरुँ त ?’ उनको प्रतिप्रश्न थियो ।

नेता थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिँदा मलाई बेला भएको छैन भन्नेले यसको जवाफ दिनुपर्ने तर्क गरे । त्यतिखेर बेला भएको छैन भन्ने धेरैजना अहिले पछुताउँदै चिन्ता व्यक्त गर्ने गरेको उनको भनाइ थियो । मनोनीत केन्द्रीय सदस्य र सांसदको रूपमा जे गर्नुपर्छ, त्यो पर्याप्त गरेको उनले बताए ।

पार्टी सभापति र नेताहरूलाई भेटेर आफूले जानेबुझेका कुरा भनेको र निराश भएका कार्यकर्तामा आत्मविश्वास, आशा र ऊर्जा थप्ने गरेको नेता थापाको भनाइ थियो । उनले संविधान जोगाएर संशोधनमा जाने कुरा राजपाका लागि बुद्धिमानी हुने बताए ।