नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अघिल्लो साता चितवनबाट हिन्दु राष्ट्रका पक्षमा शंखनाद गरे । गतवर्ष कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानले देशलाई ‘धर्म–निरपेक्ष’ घोषित गरे पनि कोइरालाले देशलाई हिन्दु राष्ट्रका रूपमा राख्नुपर्ने अडान लिँदै यो सम्बन्धमा जनमत संग्रह गराउनुपर्ने विचार राखे । उनको विचारले नेपाली समाजमा एक प्रकारको तरंग उत्पन्न गर्‍यो । शशांकको यो विचार नयाँ थिएन । तर उनले प्रस्तुत गरेको जनमत संग्रहको सूत्र भने नयाँ थियो ।

पार्टीको फोरम ‘प्रेस युनियन’बाट कांग्रेस महामन्त्रीले प्रकट गरेको यो निजी अभिव्यक्ति कति निजी हो र कति राजनीतिक यो समयले बताउने कुरा हो । तर कांग्रेसको आन्तरिक राजनीतिमा शशांकको विचारको रणनीतिक महत्त्व रहेको बताउन हिच्किचाउनु पर्दैन । उनको यो विचार त्यस्तो समयमा तरंगित भएको छ, जब पार्टी धर्म–निरपेक्षताको पक्षपाती रहेको माओवादीसँग मिलेर सरकार चलाइरहेको छ, पार्टीमा हिन्दु धर्मका समर्थकहरूको ठूलो जमात सक्रिय रहेको छ र वैचारिक हिसाबले कांग्रेस अहिले दिग्भ्रमित अवस्थामा रहेको छ ।

सरसर्ती हेर्दा बाह्रौं महाधिवेशनले शेरबहादुर देउवालाई सभापति चुनेपछि कांग्रेसको आन्तरिक राजनीति लगभग शान्त देखिएको छ । बेला—बेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले गुनासो प्रकट गरेको शैलीमा आफ्नो असन्तुष्टि अभिव्यक्त गरे पनि पार्टीमा त्यसको खासै प्रभाव देखिएको छैन । सधैं संस्थापन पक्षमा रहेका पौडेललाई ‘प्रतिपक्षी’ भूमिका अप्ठेरो अनुभव हुनु अस्वाभाविक पनि होइन । पौडेल बाहेक अन्य नेताहरू सभापति देउवासँग असन्तुष्ट भए पनि अहिले नै त्यसलाई अभिव्यक्त गर्ने मनस्थितिमा देखिएका छैनन् ।

सभापति देउवाले पदाधिकारीहरूको मनोनयनमा ढिलाइ गर्नु बाहेक अरू त्यस्तो कुनै काम गरेका पनि छैनन्, जसमा खुलेर विवाद गर्न सकियोस् । कांग्रेस पार्टी परम्परागत हिसाबले सभापतिको अग्राधिकार र निर्णायक भूमिकामा चल्ने भएकोले पनि विवादका विषयहरू साह्रै कम छन् । त्यसमाथि देउवाले एमाले–माओवादी समीकरण तोडेर माओवादी नेतृत्वमा सरकार गठन गरेका छन् । सरकारमा कांग्रेसको भूमिका निर्णायक रहेको स्पष्ट देखिएको छ । सरकारमा पुगेपछि अवसरका ढोकाहरू खुलेकोले संस्थापन र प्रतिपक्ष दुवैतर्फका कांग्रेसी कार्यकर्ताहरूको शारीरिक र मानसिक ऊर्जा बढेको छ । उनीहरूको अनुहारमा चमक र उत्साह दुवै देखिएको छ ।

राजनीतिको उच्चासनमा कांग्रेस सुविधाजनक अवस्थामा देखिए पनि वास्तविकता अलिकति फरक छ । लोकतन्त्रप्रति कांग्रेसको आस्था र प्रतिबद्धतामा कुनै खोट लगाउने ठाउँ नभए पनि वैचारिक हिसाबले कांग्रेसमा अहिले निकै ठूलो विचलन देखिएको छ । कांग्रेसले अहिलेसम्म सहज रूपले स्वीकार्दै आएको सामाजिक र आर्थिक मान्यता धराशायी भएका छन् । हिन्दु धर्मप्रति नेताहरूमा अहिले देखिएको लगाव यसअघि कहिल्यै देखिएको थिएन । परम्परागत रूपमा कांग्रेसको पहिचान धर्मप्रति प्रतिबद्धता नभएको पार्टीका रूपमा बनेको थियो । सांस्कृतिक हिसाबले पनि धर्म, संस्कार र छुवाछूत नमान्ने ‘नास्तिक’हरूको राजनीतिक समूहका रूपमा परिचित थियो, कांग्रेस ।

नेपाली समाजलाई बीसौं शताब्दीको आधुनिक मार्गमा हिंँडाउने नेता बीपी कोइरालाले तय गर्नुभएको सामाजिक, आर्थिक र राजनीतिक नीतिहरूको आधारमा कांग्रेस पार्टीको सञ्चालन भैरहेको थियो । तर २०४६ को जनआन्दोलनपछि पार्टीको सैद्धान्तिक र वैचारिक रूप नै फेरियो । यसको समाजवादी आर्थिक र वैचारिक मान्यतालाई बजारमुखी अर्थतन्त्रले विस्थापित गर्‍यो । पार्टीको आन्तरिक राजनीतिमा सुरु भएको अस्वाभाविक र असहज प्रतिस्पर्धा र चलखेलले यसका आधारभूत मान्यता र संस्थापनकालदेखि चलेको सन्तुलनलाई धराशायी तुल्याइदियो ।

अहिले कांग्रेस संगठनको नाममा रहलपहल जे बाँकी रहेको छ, त्यसलाई संरक्षित र सुरक्षित राखेर पार्टीलाई नयाँ जीवन दिनेबारे पार्टीको कुनै पनि तहमा बहस र छलफल भएको छैन । कुनै पनि जिम्मेवार नेताहरूले यसको आवश्यकता देखेका पनि छैनन् । कांग्रेसका सामु एकातिर गरिब र निरीह नेपालीको तस्बिर छ भने अर्कोतर्फ बजारमुखी अर्थतन्त्रको चमक–दमक देखिने पोष्टर छ । ती दुई असन्तुलित तस्बिरको क्यानभास र रंगमा सन्तुलन ल्याएर गरिबको जीवनचक्रलाई बदल्न सक्ने कुनै सपना पनि छैन । कुनै योजना पनि देखिँदैन । आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनको संवाहक वन्नुपर्ने ऐतिहासिक महत्त्वको पार्टी शासन सञ्चालनको सामान्य संयन्त्र बनेर रहेको छ । वामपन्थी राजनीतिको आकर्षण बढिरहेको अहिलेको समाज र समयमा सन्तुलित मध्यमार्ग अवलम्बन गर्नुपर्ने पार्टीको अहिलेको दशा र दिशा अनिश्चितजस्तै देखिएको छ ।

पार्टीलाई सुदृढ बनाएर यसमाथिको जनविश्वास बढाउने हो भने सभापति शेरबहादुर देउवाका लागि चुनौती पनि यही विन्दुबाट सुरु हुन्छ । देउवा सभापति बन्नु भनेको कांग्रेसलाई एउटा पारिवारिक वृत्त र त्यसको प्रयोगबाट बाहिर निकालेर नयाँ हिसाबले यसको राजनीतिक संयोजन गर्नु हो । साविकका गुट, उपगुट र भागबन्डामा नै पार्टीलाई सीमित गर्ने हो भने देउवाको सभापति पदमा निर्वाचनको खासै महत्त्व रहँदैन । सभापति देउवामा ऐतिहासिक राजनीतिक संगठनका रूपमा कांग्रेसले खोजेको परिवर्तनलाई आत्मसात गर्ने चाहना छ भने उनले पार्टीभित्र वैचारिक संगतिको प्रारम्भ गरिहाल्नुपर्छ । यसले देउवामा वैचारिक रुचि र जाँगर नभएको सार्वजनिक रूपमा फैलाइएको भ्रम टुट्नेछ । अहिलेको जस्तो गुट, उपगुट र सहायक गुटका रूपमा रहेको संगठनलाई एकताको बलियो सूत्रमा बाँध्न सभापतिले यस्तो कदम चाल्न सक्नुपर्छ, जुन कदमको अवलम्बन सबैका लागि बाध्यकारी बनोस् ।

अहिलेको अवस्थामा कांग्रेसभित्र वरिष्ठ नेता पौडेलको गुट महामन्त्री कोइरालासँग अभिन्न छ । अर्का प्रभावशाली सांसद शेखर कोइराला सबै गुटबाट बाहिर आफ्नै समूहमा देखिएका छन् । स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाको संरक्षणमा फष्टाएका कृष्णप्रसाद सिटौला अर्का गुटका रूपमा देखिएका छन् । ‘न्यायिक’ हिसाबले भ्रष्टाचारी सावित भएका अर्का प्रभावशाली नेता खुमबहादुर खड्काको आफ्नै गुट छ । यस बाहेक अरू सानातिना, झिनामसिना उपगुट र सहायक गुटहरूको हिसाबै भएन । यस्ता अनमेल गुटहरूको बीचबाट उम्किएर सभापति पदमा निर्वाचित हुनु देउवाप्रति मतदाताको विश्वास र सद्भाव थियो । यतिबेला देउवाले सामान्य कांग्रेसजनको त्यो विश्वास र सद्भावलाई धरातलको यथार्थसँग जोड्नु आवश्यक भएको छ ।

कांग्रेसका नेताहरू जतिसुकै गुटमा विभाजित भए पनि धर्मका सम्बन्धमा उनीहरूको विचार उस्तै छ । पौडेल गुटका भनेर चिनिने नेता आनन्द ढुंगानाले झिनो आवाजमा संविधानमा लेखिइसकेको धर्म–निरपेक्षताको प्रतिरक्षा गरे पनि महामन्त्री कोइरालाको विचार नै त्यो गुटमा हावी हुने निश्चित छ । सिटौला र खड्का सुरुदेखि नै हिन्दुत्वमा लागेका नेता हुन् । शेखर कोइरालाले आफूलाई हिन्दुत्वको पक्षमा उभ्याइसकेका छन् । स्वयं सभापति देउवा धर्म–निरपेक्षताका हिमायती होइनन् । एक हिसाबले हेर्ने हो भने कांग्रेसको महत्त्वपूर्ण मानिने सम्पूर्ण पंक्ति हिन्दुत्वको पक्षमा देखिन्छ । यो राजनीतिक हिसाबले अनौठो परिदृश्य हो ।

संघीयताका विषयमा पनि कांग्रेसभित्र असहमति र विभाजन छ । दुईवटा मधेस प्रदेश बन्यो भने देश टुक्रिने डर देखाउनेहरू र सन्तुलित संघीय संरचनाका पक्षधरहरू विभाजित रहेका छन् । संविधान जारी भैसकेपछि मात्र कांग्रेसले मधेस–तराईको महत्त्व बुझ्नु र अपर्याप्त भए पनि संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गराउनु उसको सांगठनिक आवश्यकता पनि थियो । अहिले आएर त्यो संशोधन प्रस्तावको अपर्याप्तता सावित भैसकेको छ ।

कांग्रेसले सीमांकनको नयाँ व्यवस्था कसरी मिलाउन खोजेको छ ? विवादमा परेका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरजस्ता भूखण्डवासीहरूको चित्त कसरी बुझाउने छ ? यो विषय उत्तिकै महत्त्वपूर्ण छ । धर्म र संघीय सीमांकनका प्रश्नमा कांग्रेसले राष्ट्रिय दृष्टिकोण राखेर विचार–विमर्श गरेन र यसलाई पनि गुटकै स्वार्थका आधारमा हेर्न खोज्यो भने त्यो कांग्रेसका लागि आत्मघाती हुनेछ ।

कांग्रेस कार्यसमितिको प्रस्तावित बैठकमा यी विषयहरूमाथि छलफल भएर पार्टी ठोस निष्कर्षमा पुग्न सक्यो भने कांग्रेसको स्थिति सुदृढ हुनेछ । बैठक मन्त्री पदको भागबन्डा र पदाधिकारी मनोनयनकै विवादमा अल्झियो भने यसको खासै अर्थ रहने छैन । कांग्रेसका बैठकहरू प्राय: सभापतिको कटु आलोचनाबाट सुरु भएर असन्तोषको अभिव्यक्तिमा सकिने गरेका छन् । यो पटकको बैठकलाई परिणाममुखी बनाउन सभापति देउवाले पर्याप्त गृहकार्य गरेको हुनुपर्छ । धर्म र संघीय संरचना दुवै संवेदनशील र परस्परमा जोडिएका विषय हुन् । नेपालको अवस्थामा मधेस–तराई र हिमाल–पहाडको मतलाई धर्मले एकीकृत गर्न सक्छ । तर त्यसले नै विध्वंस पनि मच्चाउन सक्छ । कान्तिपुर  बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय