काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्वका लागि निर्वाचन जारी रहेको छ। राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्‍देन प्रतिष्पर्धामा उत्रिएका छन्।

निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारी र केन्द्रीय सदस्यलाई भने विद्युतीय मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए। उनले १०० विद्युतीय भोटिङ मेसिनमध्ये ९१ वटा प्रयोग गरिएको जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अगाडि एमाले महाधिवेशनमा पनि सोही राम-लक्ष्मण इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गरेको थियो। इलेक्ट्रिक भोटिङ मेसिनको प्रयोगबाट मतगणनामा सहज हुने भएकाले छिट्टै नतिजा आउँछ।

‘७ वटा लाइनको व्यवस्था गरेका छौं। एक जना मतदातालाई मतदान गर्न कम्तिमा १५ मिनेट लाग्छ।’ बस्नेतले भने, ‘मतदान गर्न झण्डै १३ घण्टा लाग्ने आँकलन छ।’ उनका अनुसार राप्रपाको निर्वाचनमा ४ हजार ३८० मतदाता रहेका छन्।

शनिबार बिहानदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए। उनले अन्नपूर्ण पोस्ट्सँग भने,‘भृकुटीमण्डपमा महाधिवेशनबाट नयाँ नेतृत्वको लागि बिहानबाटै निर्वाचन जारी छ। साँझ ५ बजेसम्म लाइनमा बस्नुभएका मतदाताले मतदान गर्न पाउनुहुन्छ।’

अहिले मतदानस्थत नजिकै उमेद्वार र मतदाताले आफ्नो पक्षमा मत मागिरहेका छन्।

अध्यक्ष, उपाध्यक्ष र महामन्त्री गरी १६ जनाको उम्मेदवारी परेको छ। महाधिवेशनमा अध्यक्षसहित ८ जना पदाधिकारीका लागि निर्वाचन हुने भएको हो। यस्तै, उपाध्यक्षमा जगतप्रसाद गौचन,रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी झा प्रतिष्पर्धा गरिरहेका छन्।

यस्तै, महामन्त्रीका लागि रेखा थापा, डा. धवल शमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भस्कर भद्रा र कुन्तीकुमारी शाही मैदानमा उत्रिएका छन्।

राप्रपाको १४९ सिटका लागि २६४ जनाको उम्मेदवारी दर्ता भएको छ। उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ।

निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यलाई भने विद्युतीय मतदान गर्ने व्यवस्था छ।महाधिवेशनमा उम्मेदवारी दर्ताबाट झण्डै ५० लाख सङ्कलन भएको राप्रपाले जनाएको छ।