ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाल पाटन दरबार स्क्वायरस्थित स्थानीय समुदायको पहलमा निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमासमेत प्रतिष्ठा बढाइरहेको बताएकी छन् ।
ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सो मन्दिरमा जनश्रमदानबाट झिँगटी हाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुहिकरूपमा गर्न चाहे हरेक कुरा सम्भव हुने बताइन् ।
मन्त्री भुषालले भनिन्, “ छ वर्षअघि भूकम्पले क्षति पु¥याएको पाटनको यस सम्पदामा ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराले मूर्तरुप लिएकाले मन्दिर लामो समय त्यसै जीर्ण अवस्थामा रहनु परेन ।” जनताको सहयोगमा अघि बढिरहेको निर्माणको कामले मुलुकका हरेक व्यक्तिलाई कर्तव्य बोधसमेत गराएको उनको भनाइ थियो ।
सङ्घका पूर्व अध्यक्ष कृष्णलाल महर्जनले आज बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म सो काम गर्न ललितपुरका जनताको सहभागिता रहने बताए । मन्दिर पुनःनिर्माणमा प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) का निर्देशक डा रोहित रञ्जितकारले झिँगटी छाउने काम अझै १०–१२ दिन लाग्ने बताए ।










