काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खिनु नपर्ने बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र देशमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गर्नुभएको हो । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि देशमा पुनर्निर्माण र नवर्निर्माणका काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माणका काम देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहोर्याउनु भयो । उहाँले अब देशको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आउँदाे निर्वाचनमा विजयी गराउनुपर्ने बताउनु भएकाे छ ।

अध्यक्ष ओलीले देश निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरुलाई आह्वान गर्नु भयो । उहाँले भन्नु भयो, ‘चुनाव हुन ढिलै भए पनि एक वर्ष लाग्छ। एक वर्षमा चुनाव हुनैपर्छ। एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसको सरकार बन्छ ? त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो।'

अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरे पनि अरु कसैले फुस्काइ दिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताउनु भयो । उहाँले अघिल्लो पटक नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाइएको दाबी समेत गर्नु भयो ।