भर्खर महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले सम्पूर्ण ध्यान अब निर्वाचनमा केन्द्रित हुनेछ । चितवनको सौराहामा महाधिवेशन सम्पन्न पश्चात मंसिर १४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण केन्द्रीय कमिटीलाई निर्देशन दिए । आगामी निर्वाचनलाई ध्यानमा राख्दै अध्यक्ष ओलीले मंसिर २६ र २७ गते दोस्रो केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोही बैठकबाट नेताहरूको जिम्मेवारी तोक्ने, कार्यक्रमको योजना तर्जुमा गर्ने र सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्रमा खटाउने तयारी भइरहेको छ । ‘पार्टी विधान अनुसार बैठकले नेताहरूको पदीय जिम्मेवारी तोक्न स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्नेछ’, केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले नेपालवाचसँग भने, ‘पदीय जिम्मेवारी कसले के पाउनेभन्दा पनि हाम्रो ध्यान निर्वाचित केन्द्रीत हुनेछ । हामीले निर्वाचित लक्षित कार्यक्रमको खाका तयार गर्दैछौं । केन्द्रीय कमिटी बैठकबाट अनुमोदन भएपछि कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गछौं ।’तामाङका अनुसार पुस मसान्त वा माघको पहिलो हप्तासम्ममा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । केन्द्रीय सदस्यमा समावेश नभएका नेताहरू राधा ज्ञवाली, गोमा देवकोटा, दामेदर भण्डारी, विशाल भट्टराई लगायत नेताहरूलाई केन्द्र र प्रदेशमा उचित जिम्मेवारी दिने आश्वासन दिएको एक नेताले बताएका छन् ।
‘केन्द्रीय कमिटीमा नपरेकाले धेरैले आश्चर्य मानेका छन् । केन्द्रीय कमिटीमा नपरे पनि अध्यक्षज्यूले उचित कामको जिम्मेवारी दिनेमा हामी आशावादी छौं,’ केन्द्रीय कमिटीमा नपरेका एक नेताको भनाइ छ । माओवादीलाई रिजाउने, समाजवादीलाई फकाउने केन्द्रीय कमिटी बैठकबाट नेताहरूको पदीय जिम्मेवारी बाँडफाँड पछि एमालेले तीन महिने पार्टी प्रवेश अभियान अभियान सञ्चालन गर्ने भएको छ । महाधिवेशन सम्पन्नपछि अध्यक्ष ओलीले धन्यवाद दिने क्रममा अवको लक्ष्य भनेको निर्वाचित केन्द्रित हुने बताएका थिए ।‘आगामी निर्वाचनमा हाम्रो पार्टीले ६० प्रतिशत भोट ल्याउँछ,’ ओलीले नेता तथा कार्यकर्तालाई हौसला दिँदै भनेका थिए, ‘सबै कमरेडहरू निर्वाचनको तयारीमा जुट्नोस् । सम्भव भएसम्म ६५ प्रतिशत नभए ५५ प्रतिशत भोट ल्याउने गरी गृहकार्य गर्नोस् । दुई तिहाइ बहुमतका साथ आगामी सरकारको नेतृत्व हामीले गर्ने छौं ।’
ओलीले पार्टी प्रवेशमा नेता कार्यकर्तालाई उच्च प्राथमिकतमा राखेका छन् । तीन महिना पार्टी प्रवेश अभियानकोरूपमा सञ्चालन हुने दावी गरेका ओलीले माओवादीका कार्यकर्तालाई रिजाउने र पार्टी विभाजनपछि एकीकृत समाजवादीमा गएकालाई फकाउने रणनीति बनाएका छन् । ओलीको भनाइले पुष्टि गर्छ की पार्टी प्रवेशमा पूर्व लडाकु र माओवादी कार्यकर्ताहरू उच्च प्राथमिकतामा रहेका छन् । यसैगरी पार्टी विभाजनपछि एकीकृत समाजवादी पार्टीमा लागेका लाई सम्झाइ बुझाइ एमालेमा फर्काउने रणनीति तय गरेको छ । प्रार्टी प्रवेश गराउने रणनीति अनुसार एमालेले पूर्व लडाकुलाई आकर्षित गर्ने प्याकेज ल्याउने तयारी गरेको छ ।त्यसका लागि अपांग, घाइते भएकाहरूको उचित व्यवस्थापन, पूर्वलडाकुको संरक्षणदेखि पार्टीभित्र उचित स्थान दिनेसम्मको रणनीति तय गरेको छ । त्यसका लागि रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा लगायत नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी गरेको छ । त्यस्तै एकजना संगठित सदस्य बराबर ३ जना सदस्य बनाउने गरी देशभर संगठन विस्तार अभियानकै रूपमा सञ्चालन गर्ने भएको छ । करिब ८ लाख संगठित सदस्य रहेको दवी गरेको एमालेले १५ लाख सदस्य बनाउने लक्ष्य राखेको छ ।










