नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले छलफललाई तीव्रता दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार चयनका लागि सोमबारदेखि छलफल तीव्र पारेको छ ।

सोमबार पौडेल निवासमा बसेको सो समूहबाट सभापतिका आकांक्षीहरूको बैठक मंगलबार चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संस्थापन इतर पक्षबाट पौडैल र सिंहसहित महामन्त्री डा. शशांक कोइराला तथा केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । मंगलबार पौडेललाई साझा उम्मेदवार बनाउन शशांक लचक देखिए पनि प्रकाशमान र शेखरले आफ्नो अडान छाडेका छैनन् । जसका कारण मंगलबार सो समूहबाट साझा उम्मेदवार चयन हुन सकेन ।

मंगलबार सहमति नजुटेपछि सो समूहले बुधबार पनि छलफल गर्ने बताएको छ । आज आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार चयन गर्ने पौडेलले बताएका छन् । पौडेलले सभापतिको साझा उम्मेदवार चयनका लागि आफूहरू सहमतिको नजिक पुगेको पनि दाबी गरेका छन् ।

उता पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि उनीपक्षीय नेताहरूले उम्मेदवारहरू टुंग्याउँन दबाब दिएका छन् । महाधिवेशन नजिकिँदै जाँदा पनि उम्मेदवार टुंगो नलगाउँदा प्रचारप्रसारका लागि समय नपुग्ने भन्दै देउवालाई उनी पक्षीय नेताहरूले दबाब दिएका हुन् ।

जसका कारण देउवाले पनि बुधबार बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् । देउवा पक्षबाट सभापतिको उम्मेदवार देउवा नै बन्ने देखिएको छ । तर, पदाधिकारीमा भने संस्थापनमा पनि रस्साकस्सी छ ।

संस्थापनबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का आकांक्षी छन् । त्यस्तै प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की तथा रमेश लेखकले महामन्त्रीमा दाबी गरेका छन् ।

देउवा पक्षबाट सहमहामन्त्रीमा पनि धेरै नेता आकांक्षी देखिएका छन् । जसका कारण पदाधिकारीका उम्मेदवार टुंगो लगाउन नेताहरूले देउवालाई दबाब दिएका हुन् ।