काठमाडौँ — कांग्रेस नेता गगनकुमार थापाले ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ को राजनीतिक लक्ष्य प्राप्तिका लागि नेपाली कांग्रेसमा पुनर्जागरण र रूपान्तर गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । कांग्रेसले चुनाव किन जित्नुपर्छ, जितेपछि के हुन्छ भन्ने प्रश्नको जवाफ कांग्रेसको अस्तित्वसँग जोडिएको छ भन्दै उनले परिवर्तनका लागि पार्टीको मूल नेतृत्व जनताले विश्वास र भरोसा गर्ने खालको हुनुपर्ने बताए ।

कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उनले बिहीबार अवधारणापत्र सार्वजनिक गर्दै पार्टीको रूपान्तरणमा जोड दिए । राजनीतिक परिवर्तन पटक–पटक भए पनि त्यसको प्रतिफल जनतामा सही रूपका पर्‍याउन नसक्दा व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको भन्दै उनले आफूले महामन्त्री जितेमा चार वर्षमा परिवर्तित कांग्रेस निर्माण गर्ने दाबी गरे । उनले घुमाउरो ढंगले आफू महामन्त्रीमा जितेर मात्र नहुने, पार्टी सभापति पनि त्यत्तिकै उपयुक्त चाहिने बताए । उनले सामाजिक लोकतन्त्र कांग्रेसको मूल लक्ष्य बनाउनुपर्ने भन्दै त्यसको गन्तव्यमा पुग्न तय गरिने कार्यक्रमसम्बन्धी अवधारणा सार्वजनिक गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थापाले महाधिवशेनपछि कांग्रेसको मूल उद्देश्य सम्मुन्नत नेपाल र सम्मानित नेपाली हुने भन्दै त्यसका लागि आफू क्रियाशील रहने बताए । उनले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाका १५ वटा बुँदामा पेस गरे । उनले कांग्रेसले तत्काल गर्नुपर्ने पाँच बुँदा प्रस्तुत गर्दै उनले चुनावदेखि चुनावसम्मको गोलचक्रले थाकेका जनतालाई पार्टीले निर्वाचन किन जित्ने भनेर प्रस्ट उत्तर दिनुपर्ने बताए । निर्वाचन भएर मात्र सिस्टम डेमोक्रेसी नहुने र निर्वाचनमा मत हाल्न पाएर मात्र नहुने उनले बताए । ‘प्रत्येक मतको भ्यालु भए मात्रै त्यो डेमोक्रेसी हुन्छ,’ उनले अगाडि भने, ‘समानता प्रक्रिया र नारामा मात्र होइन परिणाममा देखिनुपर्छ ।’

सामाजिक लोकतन्त्रबाट सबैभन्दा बढी शक्ति व्यक्ति र नागरिकसँग हुने भन्दै उनले कांग्रेसले चुनावदेखि चुनावसम्मको सोच राख्न नहुने बताए । उनले कांग्रेसको लक्ष्य जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै मुख्य उद्देश्य हुनुपर्ने बताए । जनतालाई समुन्नत र सम्मानित भएमा पार्टी संगठन आफैं बलियो हुने र मतदाता स्वतः कांग्रेससँग जोडिने तर्क उनले गरे ।

कमलादीस्थित सभागृहमा भरिभराउन कार्यकर्ता र शुभचिन्तकको माझमा मन्तव्य राख्दै थापाले कांग्रेस स्थापनाका बेला नेतृत्वले व्यक्तिगत स्वार्थको कल्पना नगरेको भन्दै उनले पार्टीमा क्रियाशील हुनु मन्त्री र प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताए । कांग्रेस भनेको राज्यमा गएर साधनस्रोतको दोहन गर्ने एजेन्सी होइन, पार्टीको कार्यकर्ता भनेको राज्यको शक्तिमा आर्जन गर्ने विषय नभएको उनले तर्क गरे । पार्टीको स्थापना राज्यको दोहन गर्नका लागि नभएको उनले बताए । ‘पार्टी दोहनकारी शक्ति होइन,’ उनले भने ।

कांग्रेस महामन्त्रीले पार्टीको राजनीतिक लाइन प्रस्ट पार्ने र संगठन चलाउने तरिका कस्तो हुने, त्यसको नेतृत्व गर्ने मुख्य काम हुने उनले बताए । महामन्त्री पद केवल कुर्सीमा मात्रै बस्ने नभई पार्टीको कार्यदिशाको प्रस्तावकसमेत रहेको उनले जनाए । महामन्त्री केबल महामन्त्रीको कुर्सीमा बस्नेमात्रै होइन, कांग्रेसको महामन्त्री भनेको कांग्रेसको राजनीतिक लाइन, कार्यदिशाको प्रस्तावक भएको धारणा उनले राखे । उनले भने, ‘गनगन गर्ने होइन, यो भएन ऊ भएन भन्ने होइन । यो महामन्त्रीको कुर्सी भनेको कुनै बेला गणेशमान बसेको कुर्सी हो, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो ।’

२०६२/२०६३ को आन्दोलनपछि नेपाली राजनीतिलाई ठोस एजेन्डा दिए पनि विकास र समृद्धिका लागि आवश्यक मापदण्ड दिन नसकेको उनले बताए । उनले आफ्नो समूहको सभापतिको उम्मेदवार को भन्ने यकिन नभएको भन्दै जनतामा राम्रो छाप भएको सही नेतृत्वले मात्र कांग्रेस हाँक्न सक्ने धारणा राखे । थापाले भने, ‘म सभापति टुंगो लागेपछि मत माग्न सँगसँगै आउनेछु,’ उनले भने । पार्टीमा सभापति नै प्रमुख व्यक्ति हुने भएकाले नेतृत्व कमजोर भएमा आफूले महामन्त्री जिते पनि लक्ष्यअनुसार काम गर्न कठिन हुने उनले बताए ।