बैतडी, ३ साउन । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन ।
१५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए ।
लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्यो । १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन । १७ औं पटकमा बल्ल छोरा जन्मियो । परिवारमा खुसी छायो ।
अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौंपटक फेरि छोरी नै जन्मिइन् । जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन ।
मलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ । म मरेपछि श्रीमान्ले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र , देवकीको आक्रोश र रोदन मिश्रित भनाइबाट उहाँको सुत्केरी जीवन सहज छैन भन्ने अनुमान सहजै लगाउन सकिन्छ । आजको अन्नपूर्णमा खबर छ ।



