नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पार्टीको मधेसी कोटाबाट केन्द्रीय सदस्यमा डा.सुभाषचन्द्र यादवले उम्मेदवारी दिएका छन् । उनी यसअघि पार्टीका महासमिति सदस्य थिए ।

बुवा चन्द्रनारायण यादव र आमा सीतादेवी यादवको विरासतलाई बोकेर उनी नेपाली काँग्रेसको सक्रिय राजनीतिमा अघि बढेका छन् । २०५७ असार ५ गते चन्द्रनारायण यादवको हत्या भएपछि सुभाषकी आमा सीतादेवी यादव काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गर्दै कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । उनी संविधानसभा सदस्य बन्नुका साथै हाल प्रतिनिधिसभाका सदस्य समेत छिन् । उनी दुई पटक मन्त्री पनि भइसकेकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्व. चन्द्रनारायण यादवको सपना पूरा गर्ने भन्दै सीतादेवी यादव सक्रिय राजनीतिमा आएकी थिइन् । १४ औं महाधिवेशनमा भने उनले पदाधिकारीमा उम्मेदवारी नदिने भएकी छन् । उनका पति चन्द्रनारायण यादव पार्टीको जिल्ला सभापति एवं जिल्ला विकास समितिको सभापतिसम्म बनेका थिए ।

सीतादेवी यादवले छोरा सुभासलाई अघि बढाउने योजनाअनुसार नै आफू कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी हुन् । २०५७ सालदेखि आमासँगै काँग्रेसको राजनीतिमा लागेका सुभासले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

उनी भन्छन्, ‘मैले डाक्टरी पढेको छु, तर त्यस पेसामा नलागी निरन्तर राजनीतिमा सक्रिय भएँ । आमाको साथमा रहेर पार्टीमा सक्रिय भएर काम गरेँ । आमा पार्टीको पदमा हुँदासम्म मैले कुनै पदको लोभ गरिनँ, अहिले आमाले कुनै पदमा उम्मेदवारी नदिने घोषणा गरेपछि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।’

आफू केन्द्रीय सदस्य भएपछि आमा–बुवाले देश र जनताका लागि देखेको सपना पूरा गर्नुको साथै लोकतान्त्रिक मूल्य र मान्यताप्रति सधैँ प्रतिवद्ध भएर काम गर्ने उनले बताए ।

उनले राजनीतिलाई पेसा होइन, सेवाको रुपमा लिनुपर्ने र आफूले पार्टीलाई सोही बाटोमा लैजाने प्रतिवद्धता जनाए । आफूले नेपाली काँग्रेसमा मधेसको मुद्दा हरहमेसा उठाएको दाबी गर्दै उनले आगामी दिनमा काँग्रेसले मधेसको मुद्दालाई अझै महत्व दिने कुरामा आफूले विश्वास लिएको बताए ।