मलद्वारमा सुन लुकाएर ल्याउने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले दुबईदेखि मलद्वारमा लुकाएर सुन ल्याउने दुई भारतीयलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय सद्दाम हुसेन सेगु अबुबैकर र ३५ वर्षीय कादर इब्राहिम रहेको प्रहरीले जनाएको छ। मंसिर २३ गते नेपाल एयरलाइन्सको उडान नम्बर आरए२३० मार्फत दुबईबाट काठमाडौं आएका सद्दामको शंकास्पद गतिविधि देखिएपछि नियन्त्रणमा लिइएको थियो। त्यसपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगेर जाँच गर्दा मलद्वारमा सुन फेला परेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मलद्वारमा कालो रंगको चिल्लो रबर जस्तो देखिने पदार्थले बरेको अवस्थामा ५ थान अर्ध ठोस सुन फेला परेको प्रहरीले जनाएको छ । सद्दामसँगको सोधपुछको क्रममा उक्त सुन तस्करीमा कादर पनि संलग्न रहेको बताएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। सुनसहित दुबै जनालाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।