काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अधिकांश प्रदेशमा पदाधिकारी चयन हुन बाँकी छ । शनिबारदेखि जारी सम्मेलनमा माओवादीका १० प्रदेश कमिटीमध्ये गण्डकी प्रदेश कमिटीको अध्यक्षमा गायत्री गुरुङ चयन भइसकेकी छन् । अरू पदाधिकारीहरू भने टुंगो लाग्न बाँकी छ ।
त्यस्तै, उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत चयन भएका छन् । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार प्रदेश नम्बर–१ को बन्दसत्र जारी छ । त्यहाँ कमिटी गठन भएको छैन । प्रदेश नम्बर–२ को बन्दसत्र आउँदो पुस ३ गतेदेखि मात्रै सुरु हुने उनले जानकारी दिए । वाग्मती प्रदेशमा कमिटी गठन भए पनि पदाधिकारीको टुंगो लगाउन बाँकी छ ।
लुम्बिनी प्रदेशमा पनि पदाधिकारी चयनको प्रक्रिया चलिरहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बन्दसत्र जारी रहेको सचिव ढकालले जानकारी दिए ।










