मोरङको कर्सिया स्थित सिटिजन्स बैंक लुटपाट प्रकरणका मुख्य अभियुक्तसहित चार जना जेल चलान भएका छन्। मोरङको धनपालथान गाउँपालिका(४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलान भएका हुन्। मोरङ अदालतका न्यायाधीश सुदर्शन लम्सालको इजलासले बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका चार जना अभियुक्तलाई पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो।

आइतबार भएको थुनछेक बहसपछिको आदेशले विराटनगर ८ का श्याम मुखिया, भारतको अररिया जिल्लाको थाना बरगाना पञ्चायत शेखपुराका सुनिल यादव, सोही ठाउँका विजय बहरदार र रोशन कुमार यादवलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्र वीरजङ्ग राणाले जानकारी दिए। अदालतको आदेशपछि उनीहरू पुर्पक्षको लागि मोरङ कारागार चलान भएको अदालतले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ परेकामध्ये मुखिया बैंक लुटपाटको मुख्य गिरोह रहेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो। उनको योजना अनुसार बैंक लुटपाट भएको थियो। मुखियाले भारतदेखि लुटपाट गर्ने समूहलाई हतियारसहित ल्याएर दिनदहाडै बैंक लुटपाट गरेका गरेका थिए। असोज २५ गते कर्सियाको सिटिजन्स बैंकदेखि २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

घटनामा संलग्न ११ जना भए पनि बैंक लुटपाटमा आठ जना आएर लुटपाट गरेको प्रहरीले जनाएको छ। लुटेराले बैंकदेखि लुटेर लगेको रकम भने फेला परेको छैन। विराटनगरको मेनरोडस्थित गार्मेन्ट पसल लुटपाटमा पनि यही समूह संलग्न रहेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए। प्रहरीले झण्डै दुई साता लगाएर गरेको अनुसन्धानपछि २२ असोजमा विराटनगरको मेनरोडमा रहेको गार्मेन्ट पसल र २५ असोजमा कर्सियाको बैंक लुट्ने समूह एउटै रहेको खुलेको हो।