कोरोना विरुद्धको खोप लगाउन २० हजार रुपैयाँ घुस लिएको आरोपमा २ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

महोत्तरी स्वास्थ्य चौकी, महोत्तरीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेका कृष्णाकुमार यादवलाई पक्राउ गरिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले एक विज्ञप्ति जारी गर्दै निशुल्क रुपमा लगाइदिनुपर्ने खोप लगाइदिन सेवाग्राहीसँग २० हजार रकम मागेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएकाे जानकारी दिए।

उनीहरुलाई जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट नियन्त्रण लिई आवश्यक अनुसन्धान अगाडी बढाएको अख्तियारले जनाएकाे छ।

आयोगका प्रवक्ता रिसालले हेल्थ असिस्टेन्ट साहले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन लगाई दिनका लागि २० हजार रुपैयाँ मागेको र उनकाे निर्देशनमा हेल्थ असिस्टेन्ट (विद्यार्थी) कृष्णाकुमार यादवले खोप लगाई दिई २० हजार रुपैयाँ लिएको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट अटिएको टोलीले जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट रकम सहित दुबै जनालाई नियन्त्रण लिई अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।