काठमाडौँ– सरकारी निकायका पदाधिकारी तथा कर्मचारीहरुले स्वेदशमा नै उत्पादन भएका वस्तुको प्रयोग गर्नुपर्ने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन्। नेपाल हस्तकला महासंघ ४९ औँ वर्ष पूरा गरी ५० औँ वर्षमा प्रवेश गरेको तथा १० औँ हस्तकला दिवसका अवसरमा उपराष्ट्रपति पुनले स्वदेशी उत्पादनलाई माया र प्रवर्द्धन गर्नुपर्ने बताउँदै सबैले स्वदेशी उत्पादनको प्रयोग गर्न पनि आग्रह गरे।

उनले भने, ‘किसानले उत्पादन गरेको खानेकुरा हरेकको भान्सामा पाक्नु पर्छ। स्वदेशी उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुहरु स्वदेशीले नै प्रयोग गर्नुपर्छ। आज मैले पनि हातबाट बनेको लुगा लगाएर आएको छु।’यस्तै उनले हस्तकला देशको व्यापार घाटालाई रोक्ने प्रमुख क्षेत्र भएको पनि बताए। उनले आयात र निर्यातको दूरी दिनप्रति दिन फराकिलो भइ व्यापार घाटा चुलिँदै गएको वर्तमान अवस्थामा हस्तकला क्षेत्रले निर्यात वृद्धि गरिरहेको उनले दावी गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मुलुकको आर्थिक समृद्ध विकासमा महत्वपूर्ण स्थान ओगटेको हस्तकलाले आज निर्यातमूलक उद्योगको रुपमा आफ्नो विशिष्ट स्थान बनाएको छ। गत आर्थिक वर्षमा मात्रै ६ अर्ब मूल्य बराबरको ८२ किसिमका हस्तकलाका वस्तु ८० वटा देशमा निर्यात गरिएको तथ्यांक छ’, उनले भने, ‘यसबाट राष्ट्रको अर्थतन्त्रमा ठूलो योगदान पुग्न गएको छ।’

नेपालको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने उनले बताए। निर्यातको तुलनामा आयात धेरै भएमा समृद्धि हासिल गर्न गाह्रो हुने र आर्थिक समृद्धिका लागि आन्तिरिक उत्पादनमा उल्लेखिय वृद्धि गर्नुको विकल्प आफूहरुसँग नरहेको पनि उनले बताए। आफ्नो ५ वर्षका यात्रामा हस्तकला महासंघले हस्तकलाको विकास, प्रवद्धन र राष्ट्रिय अर्थतन्त्रमा निकै ठूलो योगदान पुर्‍याएको उनको भनाइ छ।

‘ हामीले थुप्रै वस्तुहरु निर्यात गर्न सक्छौँ। अपेक्षा अनुसार निर्यात नभए पनि विभिन्न वस्तुहरुको निर्यात भइरहेको छ’, उनले भने, ‘पछिल्लो समयमा हामीले विद्युत निर्यात सुरु गरेका छौँ। विभिन्न वस्तुहरु मध्ये हस्तकलाका वस्तु नै विश्व बजारमा धेरै माग भइरहेको छ।’ यस्तै हस्तकला व्यवसायीहरुले गुणस्तरीय वस्तु उत्पादनमा ध्यान केन्द्रित गरी निर्यातमा जोड दिनुपर्ने पनि बताए। सगरमाथा तथा गौतम बुद्धको देश भनेर चिन्ने विश्व समुदायले नेपाललाई हस्तकलाको पनि देश भनेर चिन्न थालेको उनको भनाइ छ।

हस्तकला क्षेत्रमा दक्ष कालिगढको अभाव, नयाँ पुस्ता हस्तकला सिक्नबाट बञ्चित तथा पुस्ता हस्तान्तरण लगायतका समस्या रहेको राष्ट्रपति पुनले बताए। यी समस्याहरु कलाकार तथा व्यवसायीको मात्र नभई राज्यको पनि भएकाले यसलाई राज्यले गम्भिर रुपमा लिनुपर्ने बताए। ‘म यसतर्फ सरकरको ध्यानर्कषण गराउन चाहन्छु’, उनले भने।

महासंघले पनि हस्तकला क्षेत्रको सुधारका लागि सरकार समक्ष विभिन्न माग राख्दै आएको थियो। उनीहरुको माग बमोजिम धेरै कुराहरु राज्यका तर्फबाट सम्बोधन हुने कोसिस भएको उनले बताए।

यस्तै हस्तकला ग्रामिण स्थापनाका लागि महासंघले दुई दशकदेखि थालेको पहलमा सरकारको सार्थक सहयोग हुने र यसले छिट्टै मूर्तरुप पाउने उनले बताए।

महासंघको वार्षिकत्सवमा स्वर्ण वर्षमा प्रवेश गरेको अवसरमा ‘स्वर्ण वर्ष घोषणपत्र’ मा उपराष्ट्रपति नन्दबहादुर पुनले हस्ताक्षर गरेका थिए।

सोही अवसरमा महासंघका संस्थापक अध्यक्ष सागर सम्शेर जबरालाई सम्मान गरिएको थियो। दीर्घकालीन योगदानका लागि मोतिलाल सिलपकारलाई पनि सम्मान गरिएको थियो। संयोजक तथा उपाध्यक्ष रविन्द्र शाक्यलाई पनि सम्मान गरिएको हो।

विगत १० वर्षदेखि लगातार हस्तकला क्षेत्रमा सबैभन्दा धेरै निर्यात गर्ने उत्कृष्ट निकासीकर्ता महेश्वर क्षेष्ठलाई स्वर्ण तक्माबाट सम्मान गरिएको हो।

दास्रो उत्कृष्ट निकासीकर्ता सुनिता शेर्पा तेस्रो नरेशलाल श्रेष्ठलाई सम्मान गरिएको हो। हस्तकला क्षेत्रमा आबद्ध कलाकार तथा अन्यलाई सम्मान गरिएको थियो।