राजनीतिमा कहिले काही सच्चा कुरा पनि विपक्षी राजनीतिक चस्मा लगाई हेर्दा हावा कुरा जस्तै देखिन्छ । विकासको नाममा खासै धेरै अनुभूति र अनुभव गर्न नपाइएको नेपालमा त अझ भनौ विज्ञानका अनौठा (नेपालीका लागी ) विकासका कुरा गर्दा गर्ने मान्छेलाई नै हावामा उठाउने चलन छ ।
नेपाली राजनीतिमा पनि यस्तै कुरा केही महिना अघि भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनले विकासबाट नेपालको मुहार फेर्न सकिन्छ भनेर विभिन्न योजना सुनाउदा सोसल मिडियामा ठुलै खैलाबैला मच्चियो ।
ओलीका विकासका सपना मध्ये एउटा यस्तै सपना थियो, हावाबाट विजुली निकाल्ने । सधै अन्धकारमा बस्न बाध्य हुने अधिकाशं नेपाल र नेपालीका लागी हावाबाट विजुली निकाल्न सकिन्छ भनेर ओलीले सुनाउदा हावा कुरा ग¥र्यो ओलीले भनेर दिगभ्रमित बनाउने काम गरियो ।
नेपाली समाजका केही मानिस पनि त्यो भ्रमको पछि लागे । नलागुन पनि कसरी उनिहरुले हावाबाट विजुली निकालेको कहिले देखेका थिएनन् । तर समय सधै एक ठाउ बस्दैन्, समयको गतिसगै विकासले पनि फड्को मार्दै जान्छ । ओलीका ति हावा कुरा अहिले आएर सच्चा कुरामा परिणत भएका छन् ।

जतिबेला हावा कुरा ग¥र्यो भनेर भन्नेहरुलाई अहिले मुस्ताङको जिल्ला प्रहरी कार्यलयले गतिलो झापड दिएको छ । त्यो पनि प्रक्राउ गरेर हैन्, हावाबाट विजुली निकालिदिएर बालिदिएको छ । मुस्ताङको जिल्ला प्रहरी कार्यलयमा दुई वटा पङ्खा जोडी निकालिएको विजुलीबाट अहिले पाच वटा बल्ब बालेर परिक्षण शुरु गरिएको छ । स्पेनको बुद्ध पावर कम्पनीको सहयोगमा दुई वटा पङ्खा जोडेर विजुली निकाल्ने काम भईरहेको मुस्ताङ प्रहरी प्रमुख डिएसपी हरिहर योगीले बताउनु भयो । तीन साता परिक्षणका रुपमा मात्र विजुली निकालिएको छ । तीन सातापछि कति पावर विजुली निस्कने हो थाहा हुने इन्जिनियरले बताएका छन् । उनिहरुले दुई वटा पङ्खाबाट करिव तीन किलोवाट बराबरको विद्युत निस्कने अनुमान गरेका छन् ।

यो एउटा उदाहरण मात्र हो । यानी नेपालमा यो पहिलो पटक वा शुरुवात भने होइन् । यसअघि पनि मुस्ताङमा २०४१ सालमा हावाबाट विद्युत निकालिएको थियो । त्यस बेला ४० किलोवाट सम्मको विद्युत निकालिएको थियो । तर, हावाको जोड र पङ्खाको सन्तुलन नमिलेर पङ्खै भाच्चिएपछि विजुली निकाल्ने काम रोकिएको थियो । त्यसयता चर्चा गरिएपनि मर्मत र चलाउने वा त्यस्ता प्रविधि अगाडी बढाउने कुनै सरकारले चासो र चर्चा समेत गरेनन् । मुस्ताङमै विद्युत प्राधिकरणले पनि हावाबाट ५ सय किलोवाट क्षमताको विद्युत आयोजना बनाएको थियो । पोल र पंखा नै उडाइदिएपछि आयोजना अहिले बन्द छ । नेपालका जिल्ला मध्ये सबै भन्दा बढि हावा चल्ने जिल्ला हो मुस्ताङ । जहा सबैभन्दा बढि हावा निरन्तर चलिरहन्छ । सदावहार रुपमा हावा चल्ने भएपछि मुस्ताङमा हावाबाट तीन हजार मेगावाट भन्दा बढि विजुली निकाल्न सकिने एक अध्ययनले समेत देखाएको थियो ।





