नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु प्रधानमन्त्री तथा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले खसालेसँगै सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो । यस्तै सभापतिका अर्का प्रत्यासी शेखर कोइराला पनि मत खसाल्न मतदानस्थलतर्फ लागेका छन् ।
पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो । दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
पहिलो चरणमा सभापति चयनका लागि सोमबार भएको मतदानमा ७६ मत बदर भएको थियो । निर्वाचन समितिका अनुसार खसेको ४६७९ मध्ये ७६ मत बदर भएको हो । समितिका अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याए भने शेखर कोइरालाले १७०२, विमलेन्द्र निधिले २५०, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । काँग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।










