सर्लाही – सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरयामा आगोले जलेर दुई बालिकाको मृत्यु भएको छ । परालको घरमा गएराति ९ बजेतिर विद्युत् सर्ट भएर आगलागी हुँदा जोगी महराकी ८ र ३ वर्षीया छोरी लक्ष्मी र सुगन्धीको जलेर मृत्यु भएको हो ।

आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो । आगोले जलेर जोगी महरा आफैँ र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते छन् ।

यसैगरी सर्लाही सदरमुकाम मलङ्गवा–६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्।

अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्ने समयमा शरीरमा आगो लागेको मृतककी पत्नी मदिना खातुनले जानकारी दिइन्। जाडो बढेसँगै सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ ।