४ साउन । राप्रपामा देखिएको विवाद यतिबेला उत्कर्षमा पुगेको धेरैको बुझाई छ ।
कारण हो, पार्टी अध्यक्ष कमल थापा र पशुपती शम्सेर राणा बिच तीव्र मतभेद हुनु र दुवै पक्षीय नेताहरु आरोप प्रत्यारोपमा जुट्नु ।
यसैबेला, फुटको संघारमा पुगेको भनिएको राप्रपा केन्द्रीय समितिको बैठक चलिरहेको छ । आखिर वास्तविकता केहो ? बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै वास्तविकता बारे प्रष्टाएका छन् ।
उनले जारी बैठकमा कार्यपत्र प्रस्तुत गर्दै उक्त कार्यपत्रमा राप्रपाका वारेमा योजनावद्ध र संगठित रुपमा फैलाईएको नकरात्मक प्रचार र भ्रमलाई समयमा चिर्न र निराकरण गर्न नसक्दा पनि चुनावको परिणामलाई प्रभाव पारेको उल्लेख गरेका छन् ।
‘सरकारमा राप्रपाको सहभागिता र संविधान संशोधनका विषयमा पार्टीको अडानका वारेमा कायम रहेको भ्रमलाई हामीले हटाउन सकेनौं,’ थापाले कार्यपत्रमा भनेका छन, ‘राप्रपा सत्ता केन्द्रित रहेको, हिन्दुराष्ट्र र राजसंस्था बोकेको पार्टी सरकारमा सहभागी हुनु उपयुक्त नभएको तथा संबिधान संशोधनको विषयमा अडान परिवर्तन गरेको जस्ता भ्रामक आरोपहरुको समय मै खण्डन र निराकरण गर्न सकिएन ।
साथै, राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा परित्याग गर्यो भन्ने आधारहिन र अनर्गल प्रचारवाजीले समेत निर्वाचनमा प्रभाव पारेको छ ।’ यसरी कमल थापा प्रस्तुत भएपनी राप्रपाको अबको भविष्यले कुन रुप लिने हो अझै आकलन गर्न सकिएको छैन ।



