काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई अब निर्वाचनको डर लाग्न थालेको छ । सबै पार्टीहरुको महाधिवेशन सकिएको छ । अन्य दलहरु पनि निर्वाचनमा केन्द्रित भएकाले नेपालले पनि आफ्ना कार्यकर्तालाई अब निर्वाचनमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् ।
नेकपा एमालेवाट अलग भएर नयाँ दल बनाएका नेपाललाई नयाँ निर्वाचनवाट आफ्नो अस्थित्व देखाउन निकै ठूलो चुनौती छ । त्यसैले उनले राष्ट्रिय सभाको चुनावमा ध्यान दिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताउँदै सम्पूर्ण सीटहरू जित्ने गरि आगाडि बढ्न नेता र कार्यकर्तालाई निर्देशन दिए ।
राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उनले प्रदेश र संघको चुनावमा जसरी पनि उत्कृष्ट नतिजा ल्याउनुपर्ने बताएका छन् । अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आवद्ध समाजिक संस्था नेपालले आयोजना गरेको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै नेपालले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा कृषि क्षेत्रमा उत्कृष्ट काम गरेका ३८ जना किसानलाई सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि श्रममन्त्री कृष्णकुमार श्रेष्ठ थिए ।










