काठमाडौं । नेकपा (एमाले)ले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएको कुनैपनि बैठकमा नजाने भन्दै सर्वदलिय बैठकमा पनि नजाने निर्णय गरेको छ ।

संसदमा प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले आजको सर्वदलिय बैठकमा सहभागी नहुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलिय बैठक बोलाउनु भएको छ । तर एमालेले भने माधव नेपाल सहभागी भएको बैठकमा नजाने बताइसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त सम्बन्धमा एमाले महासचिव शंकर पोखरेलले भनेका छन्, ‘एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा हामी सहभागी हुँदैनौँ। सर्वदलीय बैठकमा को–को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ । हामीले मान्यता नदिएका नगरेकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने ?’

सरकारले एमसीसी बारे साझा धारणा बनाउन सर्वदलिय बैठक आह्वान गरेको हो । एमालेको अवरोधका कारण संसदसमेत चल्न सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुष ६ गतेका लागि संसद बैठक आह्वान गर्नुभएको छ । एमालेलले यसअघिको सर्वदलिय बैठकमा पनि सहभागीता जनाएको थिएन ।