नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उधौली र योमरी पुन्हिको शुभकामना दिएका छन् ।​ आइतबार विहान शुभकामना सन्देश जारी गर्दै किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना व्यक्त गरे ।

'हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता हो,' शुभकामना सन्देशमा भनिएको छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको उनको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
प्रचण्डले भने, 'सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो ।' मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको उनले बताए ।

'यी पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गरुन् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,' प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ ।