सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।

गोलबजार नगरपालिका-६ गोलबजारमा शनिबार राति पौने ८ बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त झडपमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको र अर्का एक घाइते भएको  बुढाथोकीले जानकारी दिए।

छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारको लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो। त्यहाँ पुर्‍याएलगत्तै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।‍

त्यस्तै निकेश सदा गम्भीर घाइते छन्। उनको पनि उपचार भइरहेको छ।

दुई पक्षका ६-७ जनाबीच झडप भएको प्रहरीले जनाएको छ। उनीहरू अहिले फरार छन्।

प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ। घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।

यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गको गोलबजार खण्ड अवरोध गरेको वडा नम्बर ६ का वडाध्यक्ष बसन्तकुमार लामाले जानकारी दिए।