माधव भुसाल, पोखरा, ४ साउन । लेकसाइडकी रञ्जना बराल मंगलबार बिहान ३ बजे सवारी अनुमति पत्र(लाइसेन्स)को फर्म भर्न बिरौटास्थित यातायात व्यवस्था कार्यालय आइपुगिन् ।
सबेरै पुग्दा पालो छिट्टै आउला भन्ने उनलाई लागेको थियो । तर रज्जना पुग्नुभन्दा पहिले सोमबार रातिदेखि नै लामो लाइन देख्दा तीनछक परिन् । उनले भनिन्, ‘म त पहिलो हुन्छु होला लाइनमा भनेको त यति लामो लाइन रैछ । धन्न फम भर्न पाइयो ।’
बिहान ८ बजेतिर पुग्दा करिब ६ सय भन्दा धेरै लाइनमा देखेको नदीपुरकी अमृता नेपालीले बताइन् । ‘नाकाबन्दीका बेला ग्यासको लाइनमा बसेको मात्र देखेकी थिएँ ।
यस्तो लामो लाइन लाइसेन्सको फर्म भर्दा पनि हुन्छ भनेर मैले सोचेकै थिइन्,’ उनले भनिन्, ‘यस्तो थाहा पाएको भए राति नै आएर बस्ने थिएँ ।’ कर्मचारीलाई सोध्दा जम्मा १ सय जनाको लिने भनेपछि अमृतासहित आएका ५ जना साथी घर फर्किए ।
पोखराकै धीरज खड्का सोमबार रातिदेखि यातायात कार्यालय परिसरमा पालो कुरेर बसेका देखिन्थे । ‘सोमबार रातिदेखि लाइनमा छु । ममात्र होइन, पोखरा आसपासका पनि हुनुहुन्छ मसँगै लाइनमा बस्ने,’ उनले भने, ‘अनिदो बसेर सेवा लिनुपर्ने वाध्यता कहिलेसम्म हो खै ?’
चितवनका नारायण बस्याल मंगलबार बिहान ९ बजेमात्रै पोखरा आइपुगे । पोखरा उनि लाइसेन्सकै लागि आएका हुन् । सय जनाको मात्रै फर्म बुझ्ने थाहा पाएपछि उनी निराश भएर बाहिरिए । ‘आज दिउसोभर बसेर भए पनि फर्म भर्छु भनेर आइपुगें । सय जनाको मात्र फर्म भर्ने रहेछ । आज पालो नआउने भो,’ समाधानसँग दुखेसो पोख्दै उनले भने ‘अब राति आएर यतै पालो कुरेर बस्नुपर्ला । आएपछि जसोतसो काम त गर्नै प¥यो ।’
लामो समयपछि यातायात व्यवस्था कार्यालय गण्डकी(लाइसेन्स) ले साउन ३ गतेदेखि स्कुरको लाइसेन्सका लागि फर्म वितरण सुरु गरेको छ । स्मार्ट लाइसेन्स वितरण थालिएको र पहिलो चरणमा परीक्षणका लागि भन्दै पोखरामा १ सय जनाको मात्र फर्म दर्ता गरिएको छ ।
अनलाइन फर्म दर्ता सुरु भए सिस्टममा समस्या देखिएकाले अनलाइनमार्फत फर्म बुझ्न नसकिएको यातायात कार्यालय पोखराका प्रमुख कीर्तनराज पौडेल बताउँछन् । ‘दिनमा सय जनाको मात्र र्फम बुझ्नसक्ने अवस्था छ । हामीले सोही अनुरुप टोकन पनि दिइरहेका छौं,’ उनले भने ‘अनलाइनबाट फर्म बुझ्न समस्या आएन भने दिनमै ३ देखि ४ सयसम्म फर्म बुझ्न हामीलाई गाह्रो हुँदैन ।’ समाधानमा उल्लेख छ । न्यूज अभियान बाट साभार



