नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा 'गुण्डा नाइके' र 'डन'को छवि भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर काँग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका हुन्  ।

लामा भन्छन्, 'मलाई एकदमै गौरव महसुस भइरहेको छ । काँग्रेसजस्तो पार्टीमा खुलामा आज मैले जुन खालको जित हासिल गर्न सफल भए, देशभरका तमाम साथीभाइ, महाधिवेशन प्रतिनिधि साथीको साथ सहयोगप्रति म कृतज्ञ छु । यो गुनको एक-एक हिसाब म चुकाउनेछु ।' पार्टीले बेलाबखत दिएको जिम्मेवारी र काम इमानदारिताका निभाउँदै आएकोदेखि ७७ वटै जिल्लाका पार्टी साथीसँग सम्पर्कमा रहेकाले आफू जित्छु भन्ने विश्वास रहेको लामाले बताए ।