नेकपा माओवादी केन्द्रको बागमती प्रदेशमा चुनावमार्फत् नेतृत्व चयन भएपछि प्रदेश १ मा पनि चुनाव हुने सम्भावना बढेको छ।

माओवादी नेताहरूका अनुसार सकेसम्म नेतृत्वले चुनाव नगरी सहमतिमा प्रदेश पदाधिकारी चयन गर्न जोड दिँदै अधिवेशन सकिएको सातासम्म पदाधिकारी चयन रोकेको छ। तर, बागमतीमा सोमबार चुनावमार्फत् पदाधिकारी छानिएपछि प्रदेश १ मा पनि चुनाव गर्नुपर्ने माग तीव्र भएको माओवादी नेताहरूले बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादी प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज अन्तिम प्रयास गरिने सो पार्टीले जनाएको छ।

माओवादी केन्द्रले पदाधिकारीमा सहमति जुटाउन आज प्रदेश १ कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठक राखेको छ।

उक्त बैठकमा आकांक्षीहरूको विषयमा छलफल हुने र निष्कर्षका लागि प्रयास गरिने एक नेताले बताए।

प्रदेश १ माओवादी केन्द्रको प्रदेश समितिको दोस्रो बैठक बुधबार बस्दैछ। बैठकले पदाधिकारी चयन गर्ने भनिए पनि आकांक्षीहरू धेरै देखिएपछि सहमतिको सम्भावना कम देखिएको छ।

यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन्।

सहमतिको प्रयासस्वरूप कार्यदलको बैठक हिजो बसेको थियो।

आज बस्ने केन्द्रीय सदस्यहरू सम्मिलित बैठकपछि आकांक्षीबीच संयुक्त छलफल राखिने माओवादी स्रोतले जनाएको छ। जसका लागि दिउँसो २ बजेका लागि आकांक्षीहरूलाई विराटनगरस्थित तीनपैनीमा रहेको पार्टी कार्यालयमा बोलाइएको छ।

पदाधिकारी छनोटसम्बन्धी सुझाव कार्यदलले सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रियामै जानुपर्ने विषयमा प्रदेश सदस्यहरूले जोड दिइरहेका छन्।

बागमती प्रदेशमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको उदाहरण पेश गर्दै उनीहरूले लबिङ सुरू गरेका छन्।

अध्यक्षलगायत नौ पदाधिकारीका आकांक्षी जिल्लैपिच्छेका आ–आफ्नो दाबी गर्दै फेसबुकको प्रचारमा देखिएका छन्। अहिलेसम्म प्रदेश अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका ध्रुवबहादुर बुढाथोकी, देवान किराँती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङलगायतले दाबी गरेका छन्।

महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी विकलगायतले दाबी गरेका छन्।

यस्तै, समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादव, झापाका पूर्णसिं राजवंशी लगायतले दाबी गरेका छन्।

खुला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन्।

अध्यक्षमा दाबी गर्नेहरूमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ।

यस्तै, सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट अइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्का लगायतले दाबी गरेका छन्।

सहसचिवमा भने सोलुखुम्बुका ठमनाथ पराजुली, सुनसरीका मजदुर नेता भानु मैनाली र मोरङकी रचना राईले दाबी गरिरहेका छन्।

कोषाध्यक्षमा धेरैले चासो नदेखाए पनि सुनसरीका मदन चुँडाल, भोजपुरका भविन्द्र अधिकारी लगायतले दाबी गरेका छन्।