सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्धको विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर जवरा र प्रकाश राउतको संयुक्त इजलासले आज शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।
प्रवक्ता उपाध्यायले शर्माको मुद्दामा गम्भीर कानुनी जटिलता देखापरेको हुनाले सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको बताए।
शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाइ गत असार २७ गते गैरकानुनी रूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको छ । शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य–सचिवसमेत रहेका शर्मामाथि रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।
यसैबीच आन्तरिक राजस्व विभागमा नयाँ महानिर्देशक किशोरजंग कार्की नियुक्त भएका छन् । सहसचिव कार्कीलाई आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा नियुक्त गरिएको हाे । सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव कार्कीले यसअघि पनि आन्तरिक राजस्व विभागमा काम गरिसकेका छन् । हाल उनी सञ्चार मन्त्रालयमा कार्यरत थिए ।



