कपिलबस्तु । कपिलबस्तुका चर्चित नेता मंगलप्रसाद गुप्ता आफ्ना समुहसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन् । कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गरेका हुन्।

गुप्तासहितका नवप्रवेसीहरूलाई एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए। नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या उल्लेखनीय रहेका थिए । गुप्ता समुह प्रवेशसँगै कपिलबस्तुमा एमाले पहिलो शक्तिको रुपमा उदाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले रोजेका जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका नेता/कार्यकर्तालाई स्वागतका लागि ओली आएका एमाले सचिव छविलाल विश्वकर्माले बताए । अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेताहरू कपिलवस्तुमा छन् । ‌एमालेको शीर्ष नेतृत्व सोमबार साँझ रुपन्देही आएको थियो ।

गुप्ता कपिलवस्तु क्षेत्र नम्बर ३ बाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो स्थानमा थिए । कांग्रेसका अभिषेकप्रताप साहले २० हजार मत प्राप्त गरेर जित्दा उनले करीव १६ हजार मत प्राप्त गरेका थिए ।

एमाले तुलनात्मक रुपमा कमजोर रहेको सो क्षेत्रमा अघिल्लो निर्वाचनमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका ईश्वरदयाल मिश्र सूर्य चिन्हबाट उम्मेदवार हुँदा १४ हजार मतसहित तेस्रो स्थानमा थिए । पश्चिम कपिलवस्तुका लोकप्रिय नेता मंगल गुप्ता एमाले प्रवेश गरेपछि अब जित्ने आधार बलियो भएको कपिलवस्तुका एमाले नेताहरु बताउँछन् ।

लामो समय कपिलवस्तुमा राजनीति गरेका मंगलप्रसाद गुप्ता कांग्रेस, तमलोपा, फोरमबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए । २०४७ र २०५६ मा कांग्रेसबाट उम्मेदवार भएका उनी २०७० मा तमलोपा र २०७४ मा फोरमबाट लडेका थिए । तर सबै चुनावमा उनी थोरै मतले पराजित हुँदै आएका छन् ।

छोराबुहारी अमेरिकामा रहेका ७३ वर्षीय गुप्ता पनि जानेआउने गर्दछन् । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा लामो समय राजनीति गरेका उनको एमाले प्रवेशसँगै सो क्षेत्रमा एमाले बलियो हुने एमाले नेता विष्णु पन्थीले बताए ।