धनगढी, ५ साउन – कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको एकतानगर मुक्तकमैया शिविरका वृद्धले आफ्नै १३ वर्षीया नातिनीलाई गर्भवती बनाएको आरोपमा पक्राउ परेका छन् । बालिकाकी आमाले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरले उनलाई पक्राउ गरेको हो ।
कामका लागि बालिकाका बाबुआमा काठमाण्डु गएका बेला हजुरबाले नातनीसँग शारीरीक सम्बन्ध राखेर गर्भवती बनाएको रहस्य खुलेको बाल हेल्पलाईन, सिविनका कार्यक्रम संयोजक माधव लोहनीले जानकारी दिए । सिविनमा परेको उजुरीका आधारमा लोहनी नेतृत्वको टोली मंगलबार एकतानगर शिविर पुगेको छ ।
बाजेले जबरजस्ती करणी गरेको बालिकाले स्वीकार गरेको लोहनीले बताए । काठमाण्डुमा काम गर्न गएका बालिकाका आमाबुबा स्थानीय तहको चुनावताका मतदानका लागि घर आएका हुन् ।
आमाबुबाले छोरी अप्रत्यासित रुपमा मोटाइरहेको देखेपछि सोमबार टीकापुर अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।
अस्पतालले बालिकाको पेटमा ६ देखि ७ महिनाको गर्भ रहेको बताएपछि बाजेले बलात्कार गरेको रहस्य खुलेको लोहनीले जानकारी दिए । प्रहरीले वृद्धलाई मंगलबार नै पक्राउ गरी जबरजस्तीकरणी मुद्धा दर्ता गरेको छ ।
बालिका, बालिकाका बुबाआमा र पक्राउ परेका बाजेलाई मंगलबार जिल्ला प्रहरी कार्यालय धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।



