काठमाडौं – जाडो महिना लागे संगै विधुतीय हिटरको प्रयोग हवात्तै बढेको छ । घरमा बिहान बेलुकी होस या अफिस भित्र, विधुतीय हिटरले कोठा र शरीरलाई न्यानो बनाउन मद्दत पुर्याउछ ।
तर विधुतीय हिटरको प्रयोग भने जोखिमपूर्ण पनि छ त्यसैले यसको प्रयोग गर्दा विशेष ध्यान भने दिनुपर्ने हुन्छ । चिकित्सकहरुका अनुसार झ्याल-ढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो ।
त्यसैले हिटर बाल्दा निम्न सावधानी अपनाउनु आवश्यक छ ।
– हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुहोस् । हावा पास नहुने बन्द कोठामा हिटर प्रयोग गर्नुहुँदैन् ।
– मुटु तथा श्वास प्रश्वासका रोगीका लागि हिटर प्रयोग हानीकारक मानिन्छ ।
– लामो समय सम्म हिटर प्रयोग गर्दा छालामा समस्या आउने देखिन्छ । त्यसैले लामो समय सम्म हिटर नजिक नबस्नुहोला ।
– सुत्ने बेलामा हिटर बालेर नसुत्नुहोस्, साथै आफु केहि काम गर्दै गर्दा हिटर कोठामा खुल्लै छाडेर बाहिर ननिस्किनुहोस् ।
– आगोबाट जल्ने कुराहरु र केटाकेटीहरुबाट हिटरलाई टाढै राख्नुहोस् ।
हिटरको प्रयोग गर्दा
– ग्यासबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।
– ग्यासबाट चल्ने हिटरलाई त्यस्तो ठाउँमा पनि राख्नुहुँदैन । जुन बाटोबाट बढी ओहोर दोहोर गरिरहनुपर्छ । अझ ध्यान पुर्याउनुपर्ने विषय के हो भने हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।
– समय- समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ । र, हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ ।
जाडो छल्नका लागि अपनाइने यस्ता उपायले धेरैको ज्यान गएको चिकित्सकहरु बताउँछन् । त्यसैले चिसोमा विद्युतीय हिटरको साटो अन्य कुनै प्राकृतिक विकल्प नै प्रयोग गर्नु उपयुक्त हुन्छ ।










