नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा १५ पदाधिकारी बनाउने सहमति भएको छ।

शुक्रबार बसेको स्थायी समिति बैठकले पदाधिकारी संख्या बढाएर १५ बनाउने सहमति गरेको हो। अहिले माओवादीमा पाँच जना पदाधिकारी रहने व्यवस्था छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पदाधिकारीको टुंगो लगाउन गठन गरिएको कार्यदलका संयोजक देव गुरुङले स्थायी समिति बैठकमा प्रस्ताव पेश गरेका थिए। त्यसमाथि छलफल गर्दै १५ पदाधिकारी बनाउने सहमति भएको एक स्थायी समिति सदस्यले बताए।

“१५ पदाधिकारी बनाउने भन्ने सहमति भएको छ, के के भन्ने टुंगो लगाउन बाँकी छ,” उनले भने, “स्थायी समितिले पारित गरेको प्रस्ताव केन्द्रीय समितिमा पेश गरिनेछ।”

त्यसपछि मात्रै कुन पदमा कति जना रहने भन्ने टुंगो लाग्नेछ।

माओवादीको राष्ट्रिय सम्मेलन ११-१३ पुसमा काठमाडौंमा हुँदै छ। त्यसअघि बस्ने केन्द्रीय समितिले बैठकले पदाधिकारीबारे निर्णय गर्नेछ।

आजको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। त्यसमाथि पनि स्थायी समितिमा छलफल भएको छ।