काठमाडौं । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
पार्टी हेडक्वार्टर पेरिस डाँडामा जारी बैठकले आजदेखि शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी समितिको बैठकको निर्णयलाई अनुमोदन गर्नेछ । जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ ।
आज दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था समेत मिलाइएको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । उद्घाटनसत्रमा दलका शीर्ष नेताहरुलाई पनि आमन्त्रण गरिएको ढकालले बताउनुभयो ।