काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई सुदूरपश्चिमका कांग्रेस नेताहरूसँग छलफलका लागि खटाएका छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो गृह प्रदेशको विकासको योजना बनाउने सन्दर्भमा योजना आयोगलाई कांग्रेसका नेताहरूसँग छलफल गर्न निर्देशन गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
प्रधानमन्त्रीको निर्देशन बमोजिम केन्द्रीय सदस्य नैनसिंह महर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसहितको टोली धनगढी पुगेर छलफल थालेको छ ।

‘प्रधानमन्त्रीज्यूको निर्देशनमा हामी सुदूरपश्चिमको विकास योजनाको खाका बनाउन खटिएका हौँ, यहाँ ९ वटै जिल्लामा छलफल र अन्तरक्रिया कार्यक्रम राखिएको छ,’ केन्द्रीय सदस्य महरले इकान्तिपुरसँग भने, ‘यहाँका कांग्रेस जिल्लाका पदाधिकारी र सदस्यहरू, क्षेत्रीय सभापतिहरू, प्रदेश क्षेत्रीय सभापतिहरू, नगरपालिका र गाउँपालिकामा कांग्रेसबाट निर्वाचित र कांग्रेसका उम्मेदवारहरू, भातृ संस्थाका प्रमुखहरू लगायतसँग छलफल गर्ने कार्यक्रम छन् ।’

उनका अनुसार ९ वटै जिल्लामा फरक–फरक दिन छलफल र अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

टोलीले बुधबार कैलालीमा अन्तरक्रिया गरेको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख एवम् कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वड, उपप्रमुख एवम् केन्द्रीय सदस्य सुशीला मिश्र, राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले, युवा स्वरोजगार कोषका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, कांग्रेस सुदुरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह, कैलाली क्षेत्र नं. ५ का सभापति भीम पडाल लगायतले सुदूरपश्चिम प्रदेशको विकासका योजनाहरूबारे सुझाव राखेका थिए ।