काठमाडौँ । बौद्धस्थित हायत रिजेन्सी होटल शुक्रबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे १०’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए ।

पुसको चिसो मौसमलाई चुनौती दिदै झिलिमिलि सजावट सहित आयोजना भएको ‘आइसी डिजाइनर रनवे १०’ मा २८ फिमेल र ८ मेल मोडल गरेर ३६ मोडलले ७३ डिजाइनरका पहिरन र्याम्पमा प्रस्तुत गरे । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गरेको फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिर्पाली, सुशिल श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता कार्की सो टपरको रुपमा रहेका थिए ।

विगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन शो यस बर्ष पनि भब्य रुपमा सम्पन्न भएको म्यानेजमेन्ट जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । नग्मा श्रेष्ठ, अस्मि श्रेष्ठ, अनुराधा कोइराला, अभिनेत्री निसा अधिकारी, क्रिकेटर शरद भेस्वाकर लगायत थुप्रै सेलिब्रेटीको समेत उपस्थिती रहेको फेसन शोमा प्रशान्त ताम्राकारको कोरियोग्राफी र पुर्व मिस नेपाल माल्भिका सुब्बाको संचालन रहेको थियो ।

फेसन शो ‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।