प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित बीपी संग्रहालयमा पुग्ने भएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसमा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालय पुग्ने भएका हुन्। त्यहाँ पुगेर उनी बीपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बीपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ लाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ।

२०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।

आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्।