आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य असर रहेको छ। विभागले गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाल देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ। ती स्थानका उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २४ दशमलव सात डिग्री सेल्सियस रहेको छ।