तपेन्द्र बिष्ट/ डडेल्धुरा, साउन ६ – सानै उमेरमा जन्म दिने आमा गुमाएर दुःखमा हुर्कनु भएकी संगीता भण्डारी अहिले युवायुवतीको मात्र होइन सम्पूर्ण अमरगढी बासिन्दाको लोकप्रीय पात्र बन्नु भएको छ । उहाँ स्थानीय तहको चुनावमा अमरगढी नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको छ ।
डडेल्धुराको विकट गाउँ गाँङखेतमा बाल्यकाल बिताएकी भण्डारी सानैदेखि पढाईमा अब्बल हुनुहुन्थ्यो । कक्षा १० मा पड्दादेखि नै अनेरास्ववियुमा आबद्ध भई संगीता राजनीतिमा होमिनु भयो । त्यसपछि जिल्ला सदरमुकामको माउन्टेन उच्च मावि (अहिले बहुमुमुखी क्याम्पस) मा प्लस टू गर्दागर्दै प्रेस चौतारी नेपाल डडेल्धुरामा आबद्ध भई उहाँले पत्रकारिताको यात्रा पनि आरम्भ गर्नुभयो ।
पत्रकार संगीता
१८ वर्षकै उमेरमा वैवाहिक सम्बन्धमा जोडिनुभएकी संगीताले छोरी, बुहारी, श्रीमतीको भूमिका निर्वाह गर्दै डडेल्धुरामा रहेको सामुदायिक रेडियो आफ्नो एफएमबाट २०६४ सालदेखि पत्रकारिता सुरु गर्नुभयो । केही वर्ष रेडियो अमरगढी तथा हिलटाइम्स पत्रिकामा काम गर्दै उहाँ पछिल्लो समय सामुदायिक रेडियो युनिटीसँग आवद्ध हुनु हुन्थ्यो । रेडियो युनिटीको सञ्चालक समितिमा रहनु भएकी संगीताले स्थानीय डोटेली भाषाको कार्यक्रम समेत सञ्चालन गर्नुहुन्थ्यो । नेपाल पत्रकार महासंघ डडेल्धुराकी सदस्य रहनु भएकी भण्डारी एमाले समर्थित पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालसँग आवद्ध हुँदै अहिले नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद समेत हुनुहुन्थ्यो ।
उपमेयर संगीता
केही दिन अघिसम्म पत्रकार रहनुभएकी संगीता अहिले अमरगढीको जनप्रतिनिधि बन्नुभएको छ । नेकपा एमालेको तर्फबाट डडेल्धुराको अमरगढी नगरपालिकामा उपमेयरको उम्मेदवार बन्नुभएकी उहाँ विजयी हुनुभयो । विजयी भएपछि खुशी हुदै उहाँले भन्नुभएको थियो ‘पहिले म पत्रकार र कुनै पार्टीसँग आवद्ध थिएँ, अब पार्टीको कार्यकर्ता नभई म आम नागरिकको प्रतिनिधि हो । अमरगढी नगरलाई पर्यटकीय नगर बनाउने मरो सपना छ ।’
१० वर्षसम्म पत्रकारिता क्षेत्रमा लाग्दा आफूले थुप्रै सामाजिक समस्या देखेको र महिलाका सवालमा आफू “फ्रन्ट लाइन” मा बसेर ति समस्याको समाधान गर्न तत्पर रहने उहाँ बताउनुहुन्छ । अबको ५ वर्षमा अमरगढी नगरलाई केही दिएर मात्र आफू बिदा हुने संगीताको भनाई छ ।
अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी हुनु भयो । त्यस्तै उपप्रमुखमा आफू भन्दा दोब्बर उमेरकी पार्वती झुकाललाई हराउँदै एमालेकै २४ वर्षीय संगीता भण्डारी विजयी हुनु भएको हो । उज्य्यालो नेपाल बाट सभार



