पन्देहीको सम्मरीमाई गाउँपालिकामा भएको महिला हिंसाको घटनामा संलग्न पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । घटना संलग्न युवतीका बुवाका इन्नर यादवसहित पाँच जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले बताए । साथै इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख इन्सपेक्टर उदयसिंह सिंजापति उपर पनि विभागीय कारवाही अगाडि बढाइएको धानुकले जानकारी दिए ।
उनका अनुसार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।
इन्सपेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई काममा लापरवाही गरेको भन्दै उनी माथि विभागिय कारवाही अगाडि बढाइएको हो । सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानेर स्पष्टिकरण सोधिएको छ ।
कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवती निर्घात कुटिएपछि स्थानीय जनप्रतिनिधि र गाउँलेहरु मिलेर युवकबाट ‘प्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका थिए ।
यस काममा मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतको सहभागीता थियो । उनीहरूले घटनामा संग्लन युवतीका बुवाका इन्नर यादवलाई प्रहरीबाट छुटाएका थिए । तर, जनप्रतिनिधिहरूलाई भने प्रहरीले कारबाहीको दायरामा ल्याएको छैन ।
आजै गृहमन्त्रालयले पनि घटनामा संलग्नहरुको खोजी गरी कडा कारबाही गर्न निर्देशन दिइसकेको छ । साथै मावन अधिकार आयोगले पनि घटनाबारे चासो देखाएको छ ।
तर विभिन्न सञ्चारमाध्यममा वडाध्यक्षले युवतीका बाबु छुटाउन कुनै हात नरहेको भन्ने गैरजिम्मेवारीपूण जवाफ दिएका थिए ।



