बिष्णुप्रसाद पोखरेल
दमक/दमक नगर कार्यापालिकाका प्रमुख रोमनाथ ओलीले कार्यालय परिसरभित्र जनप्रतिनिधि र कर्मचारीहरुलाइ पान चपाउन निषेध गरेकाछन् ।
उनले यसको अवज्ञा गर्नेलाइ कार्वाही गर्ने चेतावनी दिदै कडाइका साथ पालना गर्न र गराउन सम्बन्धित बिभागिय प्रमुखहरुलाइ निर्देशन पनि गरेको बताईएको छ ।
नगरपालिकाका एक कर्मचारीका अनुसार यसभन्दा अगाडि कार्यालयमा खैनी खान र पान चपाउनलाइ कडाइ थिएन । नगरप्रमुखको निर्देशन पछि अहिले पूर्ण रुपमा यो बन्देज भएको छ ।
यसले कतिपय लतमा परेका कर्मचारीहरुलाइ भने मुश्किल परेको बताइन्छ । कार्यालयमा कर्मचारीहरुले पान तथा खैनी खाने कार्यलाइ सामान्य रुपमा लिइने गरेको छ ।
ओलीले निर्देशनकै क्रममा पान खाएर थुकेको भेटिए र खैनी फ्याकिएको भेटिए त्यहि ब्याक्तिले सफा गर्नु पर्ने भन्दै कर्मचारीहरुलाइ सचेत गराएका थिए ।
ओलीले कार्यकक्षमा चिया पीउन समेत बन्देज लगाएकाछन् । अहिले दमक नगरपालिकामा कुनै पनि शाखाहरुमा कार्यकक्षमा चिया पीएको भेटिदैन ।
कतिपय सरकारी कार्यालयहरुका भित्ताहरु र शौचालयका भित्ताहरु पान खाएर थुकेर घिन लाग्दो बनाएको पाइन्छ । सिढिहरुमा पान र खैनी खाएर थुकेर हैरान बनेका कार्यालय प्रमुखहरुले सिढिमा भगवानका फोटाहरु समेत टाँस गर्ने गरेको पाइन्थ्यो । यसले सरकारी कार्यालयहरु घिनलाग्दा बनेका भेटिन्थे ।
जिल्ला प्रशासन कार्यालय झापाको पुरानो भवनको सिढिमा नै बिभिन्न भगवानको पोष्टरहरु टाँसिएको थियो । दमक नगरपालिकामा भने त्यो नगरी पान चपाउन र खैनी फ्याक्न पूर्ण रुपमा बन्देज लगाइएको हो । सुधार आफैबाट शुरु गर्नुपर्छ भन्ने उदेश्य लिएर यो शुरुवात गरिएको नगर प्रमुख ओलीको भनाइ छ ।



