
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन रामपुरमा बनाउन लागेको गौतम बुद्ध बहुउद्देश्यीय क्रिकेट रंगशालाको काम भदौदेखि स्थगित छ । रंगशाला बनाउँदा ऋण लागेको भनेर फाउन्डेसनले काम अगाडि बढाउन नसक्ने र स्वामित्व ग्रहण गर्न भरतपुर महानगरपालिकालाई पत्र काटेको तीन साता पुग्न लाग्दै छ । तर, यसबारेमा कुनै ठोस निर्णय अझै भएको छैन । यो बीचमा महानगरको १० औं नगरसभा पनि भइसकेको छ ।रमेशकुमार /कान्तिपुर:पुस ८ मा सकिएको १० औं नगरसभाको निर्णयहरू जानकारी दिन महानगरपालिकाले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गर्यो । सो बेला महानगरका हालसम्मको प्रगति विवरण राख्दै मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायत आयोजना ‘देशकै रूपान्तरणकारी आयोजनाको रूपमा रहेको’ चर्चा गरिन् । तर रंगशालाको काम रोकिएका बारेमा प्रश्न राखेपछि मात्र ‘बाँकी काम संघीय सरकारले गर्ने’ बताइन् ।
क्रिकेट रंगशाला निर्माणका लागि फाउन्डेसनसँग भएको सहमतिको मुख्य आशय महानगरले जग्गा उपलब्ध गराउने र सहजीकरणको वातावरण बनाउने हो भन्ने रहेको उनले बताइन् । सहयोग रकम धुर्मुस–सुन्तली फाउन्डेसनले राष्ट्रिय, अन्तर्राष्ट्रिय र जनस्तरबाट जुटाउने भन्ने रहेको दाहालको भनाइ थियो । ‘अब जुट्न सकेन त सरकार यसै बस्दैन । महानगर आफ्नो जिम्मेवारीबाट पन्छिने छैन,’ मेयर दाहालले भनिन् ।राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन महानगरपालिकाको आफ्नो बुताले भने नभ्याउने उनले बताइन् । संघीय सरकार र प्रदेश सरकारसँग बजेटको आग्रह गरेर काम अगाडि बढाउने भनेर फाउन्डेसनलाई पनि राखेर छलफल गरिसकेको उनले सुनाइन् । फाउन्डेसनले १७ करोड रुपैयाँभन्दा बढी ऋण रहेको जानकारीसहित स्वामित्व ग्रहणका लागि पुस २ मा महानगरलाई पत्र लेखेको थियो ।
फाउन्डेसनको पत्रअनुसार रंगशाला निर्माणको काम ३५ प्रतिशतको हाराहारीमा मात्रै पूरा भएको छ । स्वामित्व ग्रहण गरेपछि पनि महानगरलाई फाउन्डेसनको ऋण तिर्ने र बाँकी काम पूरा गर्नुपर्ने हुन्छ । यी दुवै काम महानगरले गर्न नसक्ने हुँदा संघीय सरकारलाई अनुरोध गर्ने मेयर दाहालले बताइन् । संघीय सरकारका तर्फबाट यी विषयहरू प्रक्रियागत तरिकाले टुंग्याएर छिटो प्रस्ताव ल्याएर आउन भनिएको उनले बताइन् ।‘फाउन्डेसनले खर्च र कामको विवरण लेखेको छ । अब सरकारी तबरबाट पनि निर्माणको काम र खर्चको लेखाजोखा गर्ने काम अगाडि बढाएका छौं,’ दाहालले भनिन् । महानगरले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरलाई भौतिक निर्माणको प्रगति अध्ययन गर्न र खर्च विवरणका लागि चार्टर्ड एकाउन्टेन्ट संस्थामा लेखेर पठाएको छ ।
छिट्टै दुवै निकायले अध्ययन प्रतिवेदन बुझाउने दाहालले बताइन् । ‘ऋण तिर्न र बहुवर्षीय ठेक्काबाट काम पूरा गर्न संघीय सरकारबाट राम्रो आश्वासन आएको छ । हामीलाई यहाँको प्रतिवेदन चाँडै प्राप्त हुनेछ । पुस २५ मा प्रतिवेदन आउने र २६ गते खेलकुद मन्त्रालयमा लैजाने छौं,’ दाहालले भनिन् । मन्त्रिपरिषद्ले ऋण तिर्ने विषयमा निर्णय गर्ने र रंगशाला निर्माणको बाँकी काम संघीय खेलकुद मन्त्रालयले अगाडि बढाउने आश्वासन आएका कारण आफूहरू आशावादी बनेको उनको भनाइ छ ।
‘अब हाम्रो कार्यकाल सकिन लागेको छ । एउटा प्रतिष्ठाकै विषय बनेको छ । महानगरको बजेटले नसके पनि यसै रहँदैन,’ दाहालले भनिन् । भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनबीच रंगशाला निर्माणका लागि २०७५ सालको माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो । रामपुरमा रंगशाला बनाउन महानगरले त्रिवि र कृषि तथा वन विश्वविद्यालयसँग अर्को छुट्टै सहमति गरेर २० बिघा जग्गा लिएको थियो । जग्गा पाएपछि महानगरले फाउन्डेसनसँग गरेको सहमतिपत्रको बुँदा नम्बर ८ मा ‘विशेष परिस्थिति सिर्जना भएको अवस्थाबाहेक रंगशाला शिलान्यास भएको मितिले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरेर फाउन्डेसनले महानगरपालिकालाई हस्तान्तरण गर्ने’ उल्लेख छ । तर सहमति गरेको तीन वर्ष पुग्न लाग्दै गर्दा एकतिहाइ काम मात्रै गरेर फाउन्डेसन निर्माणबाट अलग भएको छ ।
रंगशाला बनाउन तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो । सो रकम फाउन्डेसनले जुटाउनुपर्ने थियो । ‘लागत जुटाउन फाउन्डेसनले नेपाल सरकार तथा देश विदेशमा रहेका व्यक्ति, संघ, संस्था र सवै निकायसँग आह्वान गरी नगद तथा जिन्सी सहयोग लिन सक्नेछ’ सहमतिपत्रको बुँदा ६ मा उल्लेख छ । साथै यसरी उपलब्ध हुने सहयोग रकमले तोकिएको अवधिमा निर्माण कार्य गर्न स्रोत अपुग भए आपसी सहमतिका आधारमा स्रोत जुटाएर निर्माण पूरा गर्न दुवै पक्षको दायित्व हुने पनि सो बुँदामा लेखिएको छ ।तर कोरोना प्रकोप बढेसँगै सहयोग जुट्न नसकेको, काम अगाडि बढाउँदा ऋण बढ्दै गएको कारण देखाएर फाउन्डेसनले विशेष परिस्थिति आएको भन्दै अपुरो रंगशालाको स्वामित्व हस्तान्तरण गर्न पत्र लेखेको हो ।
फाउन्डेसनलाई महानगरले रंगशाला बनाउन भरतपुर महानगरपालिका–१५ मा २० बिघा ६ कट्ठा जग्गा उपलब्ध गराएको थियो ।सो जग्गा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा हो । सो जग्गामा रंगशाला बनाउन दुवै विश्वविद्यालयका उपकुलपतिले ०७५ साल असोज १९ मा महानगरलाई सहमति दिएका थिए । सो जग्गा बराबर अन्यत्र सट्टाभर्ना दिने भएपछि दुवै विश्वविद्यालयका उपकुलपतिको सहमतिमा महानरलाई जग्गा दिएको कृषि विश्वविद्यालयका तत्कालीन उपकुलपति ईश्वरीप्रसाद ढकालले बताए । अहिलेसम्म ५४ करोड रुपैयाँबराबरको निर्माण भएको फाउन्डेशनको दाबी छ ।
जोहानसबर्ग — कप्तान डिन एल्गरले आक्रामक भारतीय बलिङको सामना गर्दै कठिन साबित हुन थालेको पिचमा बहादूरीपूर्ण ब्याटिङ गरेपछि दक्षिण अफ्रिका दोस्रो टेस्टमा बुधबार जिततर्फ अग्रसर भएको छ । टोलीले यो टेस्ट जितेमा तीन टेस्टको शृंखला बराबरीमा पुग्नेछ । वन्डरर्स स्टेडियममा तेस्रो दिनको समाप्तिमा दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिङ्समा २ विकेट गुमाएर १ सय १८ रन बनाएको छ । घरेलु टिमले जितनिम्ति २ सय ४० रनको लक्ष्य पाएको थियो ।
त्यसमा एल्गर ४६ रन बनाएर खेलिरहेका छन् । उनले १ सय २१ बल खेलिसकेका छन् । उनले तीन घण्टा क्रिजमा बिताइसके । जसप्रित बुमराहको बल बायाँहाते ब्याटर एल्गरको घाँटीमा लागेको थियो भने शार्दुल ठाकुरको बल उनको दायाँ हातमा जोडले लागेको थियो । दुवै अवसरमा उनलाई मैदानमै उपचार आवश्यक भयो । यसअघि दक्षिण अफ्रिकाले बलियो सुरुआत लिएको थियो । एडने मारक्रमले ३८ बलमा ३१ रन बनाए ।उनले एल्गरसँग पहिलो विकेटमा ४७ रनको साझेदारी गरे । पहिलो इनिङ्सका नायक बलर ठाकुरको बलमा मारक्रम आउट भए । त्यसै ओभरमा उनको दुई जोडदार अपिललाई अम्पायर मारिस इरामुसले स्वीकारेनन् । पिचले आफ्नो स्वाभाविक स्वरूप गुमाइसकेको हुनाले बलको बाउन्स पनि अनियमित हुन थालेको छ । यसमा तीव्र गतिका बलर घातक देखिएका छन् । तर, दक्षिण अफ्रिकालाई दोस्रो आघात पुर्याउने काम अफ स्पिनर रविचन्द्रन अश्विनले गरे ।
उनले किगन पिटरसनलाई २८ रनमा एलबीडब्लू धरापमा पारे । त्यतिबेला दक्षिण अफ्रिका ९३ रनको स्थितिमा थियो । सेन्चुरियनमा भएको पहिलो टेस्ट गुमाएको दक्षिण अफ्रिकाले शृंखला जितको चुनौती कायम राख्न यो खेल आफ्नो पक्षमा पार्नुपर्नेछ । तेस्रो टेस्ट अर्को साता केपटाउनमा हुनेछ । दक्षिण अफ्रिकी ब्याटिङक्रममा ६ आधिकारिक ब्याटर मात्र रहेको हुनाले चौथो दिन तनावपूर्ण खेल हुने विश्वास गरिएको छ ।
त्यसअगाडि भारत दोस्रो इनिङ्समा २ सय ६६ रन बनाएर अलआउट भयो । त्यसमा सबैभन्दा ठूलो योगदान चेतेश्वर पुजारा र अजिन्क्या रहानेको रह्यो । उनीहरूले तेस्रो विकेटमा १ सय ११ रनको साझेदारी गरे । भारत बलियो स्थितितर्फ अग्रसर भएका बेला तीव्र गतिका बलर कागिसो राबाडाले टिमलाई खेलमा फर्काए । पुजारा र रहानेले दिनको सुरुआती १४ ओभरमा ६६ रन जोडेका थिए । भारतले ८५/२ रनबाट खेल्न सुरु गरेको थियो ।
यसअघिको खराब प्रदर्शनका लागि आचोलनाको सिकार भइरहेका पुजारा र रहाने आक्रामक रहे । दुवैले अर्धशतक पूरा गरे । तर, दुवै राबाडाको सिकार बने । रहानले ५८ रन बनाउँदा ८ चौका र एक छक्का प्रहार गरे । पुजारा भने ५३ रन बनाएर आउट भए । उनले भने १० चौका प्रहार गरे । भारतीय इनिङ्सको अन्त्यतिर हनुमान बिहारीले नटआउट ४० रन बनाए । अश्विनले १६ र ठाकुरले २८ रनको योगदान दिए ।