कतिपय समय हामी युट्युब गीत, पोडकास्ट, अन्तर्वार्ताहरू वा अन्य विभिन्न भिडिओको अडिओ सुन्न मात्र भिडि‌ओ प्ले गर्छौं। हामीमध्ये धेरैलाई युट्युब खोलेपछि अरू एप खोल्न मिल्दैन भन्ने लाग्छ। डुअल ट्याब स्क्रिन सपोर्ट गर्ने फोन भए त सजिलै हुन्छ। तर सामान्य फोनमा यसो गर्न मिल्दैन। सेटिङ्स मिलाउन पनि झन्झटिलो हुन्छ। थर्ड पार्टी एप डाउनलोड गर्नुपर्ने भइदिन्छ वा यस्तो विशेषता फोनमा सपोर्ट नै गर्दैन। रेडमी, पोको र साओमी फोनहरूमा भने युट्युबमा कुनै भिडिओ प्ले गरेर, स्क्रिन अफ गर्दै भिडि‌ओको अडिओ सुन्न सकिन्छ। त्यो पनि कुनै झन्झटबिना। रेडमी, पोको र साओमी फोनहरूमा स्क्रिन अफ गरेर यसरी बजाउनुहोस् युट्युबमा भिडिओः

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. फोनमा भएको सेटिङ्स विकल्पमा जाने।

२. त्यहाँ 'स्पेसल फिचर' भन्ने विकल्प देखिन्छ। त्यो चयन गर्ने।

३. यसको भित्र 'गेम टर्बो', 'भिडिओ टुलबक्स', 'फ्लोटिङ विन्डो', 'सेकेन्ड स्पेस' जस्ता फिचर देख्न सकिन्छ। यसमा भएको 'भिडिओ टुलबक्स' चयन गर्ने।

४. त्यसपछि यसको भित्र भएको भिडि‌ओ टुलबक्स भन्ने विकल्पहरूलाई सक्रिय गर्ने। अनि 'म्यानेज भिडिओ एप' भन्ने विकल्प रोज्ने।

५. यसभित्र आफ्नो फोनमा भएका सबै एप देखाइन्छ। त्यसमध्ये युट्युब चयन गर्ने।

६. अब फोनमा युट्युब एप खोल्ने। त्यसमा आफूलाई मनपर्ने भिडिओ प्ले गर्ने।

७. मोबाइलको बायाँपट्टि सानो सेतो धर्को जस्तो देखिन्छ। यसलाई स्वाइप गर्ने अनि 'इयरपिस' भन्ने विकल्प रोज्ने।

यसो गरेपछि युट्युब भिडिओ स्क्रिन बन्द हुन्छ। तर आफूले प्ले गरेको भिडि‌ओको आवाज भने बजिरहन्छ। यसले मोबाइलको चार्ज पनि बचत हुन्छ।