अमिताभ बच्चन

नेपालसँग बलिउड सुपरस्टार अमिताभ बच्चनको विशेष सम्बन्ध छ । उनी प्रायः आफूले नेपालमा बिताएको समयको सम्झना गरिरहन्छन्, जहाँ उनले आफ्ना केही सुपरहिट चलचित्र ‘खुदा गवाह’ र ‘महान’को छायाँकन गरेका थिए । यहाँ उनी आफ्नै सुन्दर शब्दहरू पोख्छन् । विनाशकारी भूकम्पपछि उनले फेसबुकमा नेपालबारे लेखेको ब्लगको अनुदित अंश ः

नेपाल एउटा सपना थियो । हुर्किंदै गरेको उमेरमै मलाई औधी मन पर्ने एउटा भौगोलिक स्थान थियो नेपाल । एउटा विदेशी भूमि तर भारतसँगसँगै कैयौँ सार्वभौमिक गुणहरू मिल्दोजुल्दो भएको । वल्लो घर र पल्लो घरजस्तै ढोका जोडिएको छिमेकी जस्तो । यही कारणले पनि नेपालसँग भावनात्मक सम्बन्ध थियो मेरो ।

मैले सन् १९५४ मा नेपाल भ्रमण गरेको थिएँ । हामी त्यतिबेला इलाहाबादमा बस्थ्यौँ र परिवारसँग घुम्नका लागि पटना र नदीपारि स्टिमरबाट मुजफ्फपुरसम्म गएका थियौँ । बुवाले आफ्ना केही नजिकका साहित्यिक समकालीनसँग भेट्ने इच्छा व्यक्त गर्नुभएको थियो । पटनाबाट हामी हवाईजहाजमार्फत नेपालको राजधानी काठमाडौंका लागि उडान ग¥यौं । डबल इन्जिन प्रोपेलर डाकोट विमानमा गएका थियौं हामी, जुन दोस्रो विश्वयुद्धको एउटा युद्धक विमान जस्तो देखिन्थ्यो ।

विमानमा त्यो मेरो पहिलो अनुभव थियो । र, निश्चय नै पहिलो विदेश भ्रमण पनि । म कति पुलकित भएको थिएँ भन्ने मापन गर्न सक्दिनँ । म त्यतिबेलाको समयमा निकै उत्कृष्ट ठाउँमा थिएँ । मेरा साथीहरूमाझ मेरो मूल्य र आकर्षणले सगरमाथा छोएको थियो ।

सन् १९५४ मा काठमाडौं विकासको प्रक्रियामा थियो । यो खुल्ला, अचम्मको र मौलिक थियो । बुबाका प्रिय मित्र महाराज किसेन रासगोत्र ‘इन्डियन फरेन सर्भिस’अन्तर्गत भारतीय दूतावासमा प्रथम सचिवका रूपमा कार्यरत थिए । राजदूत श्रीभगवान् सहाय थिए, जो निकै आदरयोग्य व्यक्ति थिए । उनी पनि बुबाका साथी र प्रशंसक थिए ।

हवाई अड्डामा त्यतिबेला माटो र भुइँको ट्र्याक थियो । मलाई अझै पनि सम्झना छ, काठमाडौंमा एकमात्र मेटल रोड भारतीय दूतावासदेखि राजदरबारसम्म थियो । त्यतिबेला राजा त्रिभुवन थिए । त्यसपछि उनको उत्तराधिकारीका रूपमा राजा महेन्द्र आए । महेन्द्रका उत्तराधिकारी (वीरेन्द्र)ले राज्य सञ्चालन गरिरहँदा उनको पूरै परिवार आफ्नै छोराद्वारा गोली हानी मारिए ।

राजपरिवार बुवाको कवित्वका प्रशंसक थियो । पछि मेरा भ्रमणहरूमा पनि यसले प्रभाव पारिरह्यो ।

नेपाल भ्रमणलाई लिएर मसँग दुईवटा रोचक स्मृतिहरू छन् । एउटाचाहिँ चिनियाँ पिङपोङ (टेबलटेनिस) बल थियो । त्यस्ता बल काठमाडौंमा पाइन्थे । त्यस्ता आयातीत सामानबारे कुरा गर्दा पनि हामी पुलकित हुन्थ्यौं । सामाजिक भेटघाटमा पनि यो विषयले प्रमुखता पाउँथ्यो ।

दोस्रो थियो– बन्दगला जोधपुरी ज्याकेट, जुन भारतको औपचारिक पोशाक हो । यो मेरी आमाले हाम्रा लागि (मेरो भाइ र मलाई) यात्राअघि बनाइदिनुभएको थियो । किनभने हामीले यो औपचारिक समारोहमा लगाउनुपर्ने थियो । त्यो समारोह नेपालका लागि भारतीय राजदूतलाई ओहोदाको प्रमाणपत्र दिने समारोह थियो । हामी त्यो समारोहमा सहभागी हुन पाउनु नै ठूलो सम्मानको कुरो थियो । ज्याकेटको माथि खैरो र नीलो रंग थियो । पाइन्ट कालो थियो । औपचारिक पोशाक नभएका हाम्रा लागि यो अमूल्य सम्पत्ति थियो । यो लगाउनु ठूलो कुरो थियोे ।

यीबाहेक राजनेता र केही प्रतिष्ठित व्यक्तिका घरमा कविता संगोष्ठी अर्को सम्झना पनि ताजा छ । ती राजनेतामध्ये केहीले जेलमा विद्रोह गरेका थिए । प्रायः बुवाका रचनाले जेलमा उनीहरूलाई प्रेरित गर्दा रहेछन् । त्यसैले उनीहरू बुवासँग भेट्न लालायित थिए ।

मलाई याद छ– शहरको केन्द्रमा ठूलो खुला स्थान छ, जसलाई टुँडिखेल भनिन्छ । र, त्यतिबेला मैले नेपालीमा एउटा वाक्य सिकेको थिएँ, जुन मलाई अहिले पनि याद छ ः

– काँक्रो कायो ? कस्तो लागो ? राम्रो लागो, राम्रो लागो ।

मेरो चलचित्र ‘महान’को एउटा दृश्यमा मैले तीनवटा पात्रमा अभिनय गरेको छु । ती तीन नेपाली शब्दलाई मैले त्यो चलचित्रमा पनि प्रयोग गरेको छु, जिनत अमानसँग बोल्दा । त्यो दृश्यमा महान् कलाकार अशोक कुमार हामीसँगै हुनुहुन्थ्यो । त्यतिबेला उहाँले आफ्नी छोरीका लागि स्विटरहरू किन्दै हुनुहुन्थ्यो ।

सन् १९५४ मा मस्तिष्कको कम्प्युटर मेमोरीमा जे भण्डारण गरिएको थियो, त्यो सन् १९८१ (?) सम्ममा पनि आइरहन्थ्यो । हालै मात्र चिकित्सकहरूसँगको मेरो मिटिङ (म आफैँ सम्बद्ध हुने लक्षित अभियानको मिटिङ) भएको थियो । त्यहाँ मैले ज्ञान प्राप्त गरेँ– उमेर बढ्दै जाँदा एक दिनअघिको कुराभन्दा पनि पुराना दिनका सम्झना ताजा भएर आउँदा रहेछन् । नेपालसँगको मेरो आत्मीयता शायद यही जैविक विशेषताको परिणती हो ।

अहिले सम्झिँदा मलाई नराम्रो लाग्छ– नेपाल यात्राका क्रममा मैले काँक्राको सलादबारेमा नराम्रो बोलेको थिएँ । एउटा लन्चका क्रममा काँक्राको सलाद बाँडिदै थियो । मलाई मन पर्दैनथ्यो त्यसैले पन्छाउँदै थिएँ । मलाई खान मन थिएन । तर, बुवाले सलाद स्वास्थ्यका लागि राम्रो भएको बताउनुभयो । मैले त्यो सलाद नखाँदासम्म खानाको मेच छाड्ने अनुमति थिएन । केही समयपछि मैले आँखाभरि आँसु पारी अलिअलि गर्दै खाएँ, पछि फ्याँक्ने भनेर । अहिले म निसंकोच आफ्नो लन्चमा काँक्राको स्लाइस खान्छु । तर, अचेल यसलाई कस्मेटिक उपचारमा प्रयोग गरिन्छ । आँखामा काटिएको काँक्रा राख्दा आँखाको थकान हट्ने र आँखामा आउने कालोपन पनि हट्ने चिकित्सकहरू बताउँछन् ।

चलचित्र ‘खुदा गवाह र ‘महान’को छायाँकनका क्रममा मैले नेपाल यात्रा गरेँ । सबैभन्दा उत्साहजनक कुरा त सन् १९५४ को समयभन्दा नेपाल सम्पूर्ण रूपमा फरक थियो । नेपालले आधुनिकीकरणको बाटो समातिसकेको थियो, विकास पनि भइरहेको थियो । तर पनि यसको इतिहास, परम्परा र संस्कृतिलाई उत्तिकै संरक्षण गरिएको थियो । यो कुराले मलाई प्रभाव पा¥यो । नेपालीहरूको माया, आतिथ्य, संवेदना उस्तै थियो, जसले हामीलाई दर्शक दियो र निश्चित रूपमा हाम्रा चलचित्रलाई माया गरिरह्यो ।

– मुम्बई २०१५ अप्रिल २९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय