देशभर चिसो बढेको छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।

काठमाडौं उपत्यकासहितका मुलुकका विभिन्न क्षेत्रमा बदली छ। जसकारण आज बिहान चिसो झनै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र बुधबार वर्षा र हिमपातको सम्भावना छ। जसले चिसो झन बढाउनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चिसोमा संक्रमणको जोखिम पनि उत्तिकै रहन्छ। चिसोबाट कसरी जोगिने रु बालबालिका र वृद्धवृद्धाको हेरचाह कसरी गर्ने ? यस विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका छातीरोग विशेषज्ञ डा. नीरज बमका टिप्स यस्ता छन्।

चिसोका कारण रुघाखोकी, ज्वरो, उच्च रक्तचाप, घाँटीको श्वासनलीमा एलर्जी बढ्ने, छाला चिलाउने समस्या देखिन्छ। काठमाडौं लगायत क्षेत्रमा तापक्रम घटेको छ। घाम पनि पालिो लाग्दैन, बदली भइरहन्छ। तराईमा शीतलहर चल्ने गरेको छ। घाम पर्याप्त नपाउदा ‘भिटामिन डि’को पनि कमी हुन्छ, जसले रोगसँग लड्ने क्षमता पनि स्वतः कम हुन्छ।

वायु प्रदूषण पनि बढ्दै गएको छ। सुक्खायाममा सडकमा धुलोधुवाँ उड्छ। चुरोटको धुवाँ पनि हावामा मिसिने भएकाले यो स्वास्थ्यका लागि झनै हानिकारक हुन्छ। जसकारण रुघाखोकीको संक्रमण हुन्छ।

जाडोमा विशेष रुपमा बालबालिका र ज्येष्ठ नागरिक जोखिममा हुन्छन्। जेष्ठ नागरिकमा उच्च रक्तचाप,दमको समस्या बढ्छ भने हृदयघात, सुगरको समस्या पनि निम्तन्छ। शिशुमा निमोनिया,फ्लुको संक्रमण वृद्धि हुने देखिन्छ।

चिसोबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ, सकेसम्म घर, कोठाको वातावरणलाई न्यानो पार्नु पर्छ। हिटरको प्रयोग गर्दा, आगो बाल्दा भेन्टिलेटर खुला राख्नुपर्छ। बिहान पूजापाठ गर्न स्नान गर्दा सकेसम्म तातो पानीको प्रयोग गर्नुपर्छ। बिहानबिहानै कसरत गर्न जानेहरूले विशेषरुपमा न्यानोे लुगा लागाएर मात्र जानुपर्छ।