काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप लगाइने बताएका छन् ।शनिबार बालुवाटारमा स्वास्थ्यविज्ञहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि खोप नै अन्तिम विकल्प देखिएको भन्दै सबै नागरिकलाई पूर्ण मात्राको खोप दिइने बताएका हुन् ।त्यस्तै प्रधानमन्त्री देउवाले अब आवश्यकता अनुसार बूष्टर खोप अभियानलाई अघि बढाइने समेत बताए । प्रधानमन्त्री देउवाले विज्ञ चिकित्सकको सुझावका आधारमा कोरोना नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने उल्लेख गरे ।कोरोनाको नयाँ–नयाँ भेरियन्ट आएका कारण विश्व समूदायकै लागि चूनौती देखिएकाले यसलाई सामना गर्ने सवै उपायहरुलाई अवलम्वन गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै संक्रामक भएकाले आइसोलेशन र होल्डिङ सेन्टरका साथै कोरोना परीक्षणको दायरा बढाउन सरकारले काम गरिरहेको जानकारी दिए ।छलफलका क्रममा परीक्षणको दायरा बढाउनुपर्ने, आइसोलेशन सेन्टर बढाउनुपर्ने र जनशक्ति बढाउन सुझाव दिएको संक्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइरालाले जानकारी दिए ।
उनले कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने सुझाव दिएका जानकारी दिए ।छलफलमा स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिललगायत विभिन्न अस्पतालका विज्ञहरुको सहभागिता रहेको थियो ।