नेपाल-भारत सीमा नाका बेलहियाबाट संक्रमित भएका पनि निर्वाध आवतजावत गर्न थालेका छन् । कोरोनाको संक्रमण रोकथाम गर्न सीमा नाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए पनि प्रभावकारी नभएका कारण त्यस्तो समस्या देखिएको स्थानीयवासीले बताएका छन् । नाकामा सामान्य ज्वरो मापन मात्रै गरिएको छ । भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ताका कारण बढेको भीडले पनि संक्रमण बढाएको अनुमान गरिएको छ ।रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक कैयौं नेपाली भारतीय बजारमा सामान खरिद गर्न जान्छन् । उनीहरूको न कोरोना परीक्षण भएको छ, न उनीहरू स्वयंले स्वास्थ्य मापदण्ड पालना गर्ने गरेका छन् ।

कोरोना संक्रमण रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको आदेश पनि कार्यान्वयन भएको पाइँदैन । भारतीय पर्यटक र भारतमा काम गरेर गरेर फर्किने नेपालीबाहेक सामान खरिद गर्न जानेको कोरोना परीक्षण नगरिएकाले संक्रमण फैलाउने जोखिम झनै बढाएको बेलहिया हेल्थ डेस्कका स्वास्थ्य संयोजक लालमोहन चौधरी बताउँछन् ।पछिल्लो समय बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय र नेपालीमा कोरोना संक्रमण देखिएको छ । नाकामा स्वास्थ्य मन्त्रालय, सिद्धार्थनगर नगरपालिका र विभिन्न सङ्घसंस्थाले हेल्थडेस्क राखेका छन् । सुरक्षाकर्मी पनि तैनाथ छन् । ‘यसरी आवतजावत गर्नेलाई परीक्षण त टाढाको कुरा हो सोधखोज र रोकतोकसमेत गरिएको छैन’, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजु भन्छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सीमा नाकामा स्वास्थ्य सर्तकता र स्वास्थ्य जाँचलाई कडाईं गरिएको भने पनि त्यहाँको जनशक्तिले त्यो भीड थेग्नसक्ने अवस्था देखिँदैन । बेलहिया नाका हुँदै दैनिक ५०० को हाराहारीमा मालबाहक सवारी साधन भित्रिन्छन्, तर सवारी चालक र सहचालकको पनि कोरोना परीक्षण गरिएको पाइँदैन । नाकामा संक्रमण देखिएका पनि होम आइसोलेसनमा बस्ने सर्तमा सिंधै घर जाने गरेका बताइन्छ ।भारतमा बढ्दो कोरोना संक्रमणका कारण रोजगारीमा गएका नेपाली फर्कने क्रम बढ्दो छ । बेलहिया नाकाबाट करिब तीन हजार, रुपैडिया नाकाबाट करिब चार हजार, कृष्णनगर, महेशपुरबाट करिब दुई हजार नेपाली केही समययता दिनहुँ आइरहेका छन् ।

योबाहेक अन्य जिल्लाका साना नाकाबाट पनि उत्तिकै सङ्ख्यामा नागरिक आइरहेका छन् ।कोरोना संक्रमण बढे पनि अहिले खोप कार्डका आधारमा गाडीका गाडी भारतीय पर्यटक तीर्थस्थल र पर्यटकीयस्थल घुम्न आएका देखिन्छ । बेलहिया नाकाबाट मात्र दैनिक सरदरमा ७०० गाडी नेपाल आइरहेको बेलहियास्थित इलाका प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयले जनाएको छ, तर सीमामा न त स्वास्थ्य परीक्षणका लागि पर्याप्त जनशक्ति नै छ, न होल्डिङ सेन्टर नै । सीमित स्वास्थ्यकर्मीबाट काम चलाइएको नाकामा स्वास्थ्यकर्मी आफैँ संक्रमित भएका छन् ।नाकामा दैनिक ५०० भन्दाबढीको एन्टिजेन परीक्षण हुने गरे पनि प्रवेश गर्ने सबैको परीक्षण हुँदैन ।

यसअघि पनि भारतबाट आउने व्यक्तिबाटै कोरोना संक्रमण फैलिएको भन्दै उद्योगी तथा व्यवसायीले सीमानाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेको बुटवल उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कसजु स्मरण गराउँछन् । ।कोरोना जाँच सहजरुपमा गरेर ढुक्कसँग नेपाल आउने वातावरण मिलाउनुपर्नेमा उनी जोड दिन्छन् । त्यसो त प्रदेश सरकारले यसअघि बनाउने भनिएको होल्डिङ सेन्टर अहिलेसम्म बनेका छैनन् । रुपन्देही, कपिलवस्तु र बाँकेमा बनाउने भनिएको होल्डिङ सेन्टरका लागि रुपन्देहीमा जग्गाको व्यवस्था नै भएन, बाँकेमा पनि निकै ढिलो काम भएको छ भने कपिलवस्तुको कृष्णनगरमा काम अन्तिम चरणमा पुगेको छ । प्रदेश स्वास्थ्य कार्यालयका प्रवक्ता पुष्पराज पौडेलकाअनुसार बजेट अभावभन्दा पनि काम नै समयमा सुरु नभएर ढिलाइ भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर