काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ । यसको जोखिममा गर्भवती महिला पनि उत्तिकै छन् ।आमालाई कोरोना संक्रमण भएमा गर्भमा हुर्किरहेको शिशुलाई पनि असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् । मोरङ सहकारी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ बालकृष्ण शाहका अनुसार महामारीको समयमा आवश्यक औषधि पनि सीमित हुन्छ ।

गर्भवती भएको बेला ज्वरो आएमा पारासिटामोल खान उनी सुझाव दिन्छन् । सामान्य व्यक्तिले ज्वरो आउँदा प्रयोग गर्ने फ्लेक्जन, बोफ्रिन जस्ता औषधि गर्भवती महिलाले प्रयोग गर्न नहुने शाह बताउँछन् ।महामारीको बेला अस्पताल जाँदा त्यहींबाटै संक्रमण हुनसक्ने जोखिम हुने भएकाले अत्यावश्यक बाहेकमा अस्पताल नजान पनि उनी सुझाउँछन् ।

डा. बालकृष्ण साह

‘अहिले समय एकदमै जोखिम बढेको छ । बच्चा चलेन, रगत बग्ने लगायतका समस्या देखियो भने मात्र अस्पताल जानुपर्छ । बच्चालाई चाहिने खोप र नियमित गर्ने भिडियो एक्सरे ५–१० दिन ढिला गर्दैमा आत्तिहाल्नु पर्दैन,’ डा. शाह भन्छन् । अस्पताल घरजत्तिको सुरक्षित स्थान नभएकाले महामारीका बेला गर्भवती महिलाले घरमै बसेर पोषिलो र तागतिलो खानेकुरा खानुपर्छ ।सामान्य व्यक्तिलाई भन्दा गर्भवती महिलामा स्वास्थ्यमा थप जटिलता आउन सक्छ ।

धेरै ज्वरो आएमा त्यसले कलेजोमा समेत असर पुर्‍याउन सक्ने डा. शाह बताउँछन् । कुनै पनि समस्या आएमा गर्भवती महिला ‘पर्ख र हेर’को अवस्थामा रहनुहुँदैन । ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने जस्ता समस्या देखिनासाथ चिकित्सकको परामर्श लिएर पारासिटामोल खान सकिने उनको सुझाव छ ।कोरोना संक्रमणबाट जोगिन गर्भवती महिलाले पनि अरुले अपनाएजस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ ।

मास्क, स्यानिटाइजरको प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धुने, भीडभाडमा नजाने जस्ता सर्तकता अपनाएमा यसबाट बच्न सकिन्छ ।कोरोना विरुद्धको खोप गर्भवती तथा सुत्केरी महिला तथा महिनावरी भएको बेलामा पनि लगाउन सकिन्छ । डा. शाह अगाडि भन्छन्, ‘कोरोना पोजिटिभ देखिएको अवस्थामा पनि डेलिभरी गर्न सकिन्छ । आमालाई कोरोना पोजेटिभ देखिँदैमा बच्चालाई असर गर्दैन ।’

गर्भवती भएको अवस्थामा मनमा अनेक कुरा खेल्न सक्छन् । अझ महामारीको समयमा त अरु बढी तर्कवितर्क उठ्ने गर्छन् । ‘यो समयमा गर्भवती महिलाले आफूलाई मानसिक र शारीरिक रुपमा आफूलाई स्वस्थ राख्नुपर्दछ,’ डा. शाह भन्छन्, ‘कोरोनाको संक्रमण अन्य मानिसलाई जस्तो हुन्छ गर्भवती महिलालाई पनि त्यस्तै हो । कोभिड भएमा अस्पतालले भर्ना लिँदैन कि भन्ने चिन्ता लिनुपर्दैन । अस्पताल बिरामीको सेवाका लागि खोलिएको हो । त्यसकारण स्वास्थ्यमा समस्या देखिनासाथ अस्पताल नै जानुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय