अरनीको राजमार्गस्थित बाह्रबिसे तातोपानी सडकखण्डमा पर्ने लार्चा पुल भाच्चिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ३ मा अवस्थित उक्त पुलमाथि ठूलो पहिरो खस्दा भाच्चिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाच्लोकका डिएसपी श्यामकृष्ण अधिकारीले बताए ।
उनका अनुसार पहिरो पुलमाथि खसेको थियो भने जीर्ण अवस्थामा रहेको पुल भाच्चिन पुगि भोटेकोशीले बगाएको छ । अधिकारीले लगातारको वर्षाका कारण भोटेकोशीको बहाव तीब्र रहेको छ ।
पुल भाँच्चिएसँगै चीनसँगको व्यापारिक नाका तातोपानी जान प्रयोग हुने उक्त मुख्य सडक बन्द भएको छ । प्रहरीले पुल भाँच्चिएसँगै तातोपानीसँगको यातायात सम्पर्क विच्छेद भएको जानकारी दिएको छ ।
डिएपसी अधिकारीले लोकान्तरसँग भने, ‘चीनसँगको मुख्य व्यापारिक नाका जाने मुख्य सडक अरनीको राजमार्ग हो । लार्चा पुल भाँच्चिएसँगै यातायात सम्पर्क हाललाई विच्देद भएको छ।’ ग्रामिण क्षेत्रबाट साना सवारीसाधन तातोपानीसम्म पुग्न सक्ने भएपनि त्यो भरपर्दो नहुने उनको भनाई छ ।
प्रहरीका अनुसार आइतबार साँझ ७ बजेतिर पहिरो पुलमाथि खस्न पुगेको थियो भने पहिरोको भार थाम्न नसरी पुल भाच्चिएर नदीमा खस्न पुगेको थियो । डिएसपी अधिकारीले पूर्ण पूर्णरुपमा ध्वस्त भएकाले तत्काल पुनःनिर्माण गर्न सकिने अवस्था नरहेको प्रतिक्रिया दिए ।
प्रहरीका अनुसार पहिरो गएको स्थानमा बस्ती नभएकाले कुनै मानविय क्षति भएको जानकारी प्राप्त भएको छैन।
यसअघि पनि गत २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पले अरनीको राजमार्गमा ठूलो क्षति पुगेको थियो ।
फाइल तस्बिर



