नेकपा एमालेले नवनिर्वाचित जनप्रतिनिधिलाई आफुखुशी काम गर्दै नहिड्न चेतावनी दिएको छ । प्रतिनिधिले आफुखुशी तलब, सेवा सुविधा लिएर आलोचना बढ्न थालेपछि प्रशिक्षण दिदै एमालेले आफुखुशी नगर्न चेतावनी दिएको हो ।
एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले निर्वाचित जनप्रतिनिधिलाई आफुखुसी तलब भत्ता नलिन कडा निर्देशन दिनुभयो। एमालेबाट निर्वाचित पाँच नम्बर प्रदेशका जनप्रतिनिधिहरुलाई नेपालगंञमा दिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै गौतमले राज्यले दिएको बजेट सेवा सुविधामा खर्च नगर्न निर्देशन दिनुभयो ।
तपाईहरु जनताको काम गर्न आउनु भएको हो, आफ्नो सेवा सुविधा बढाउन आउनु भएको होइन त्यसैले तपाईहरु स्वयमसेवी भएर काम गर्नुपर्छ, कार्यवहाक अध्यक्ष गौतमको भनाई थियो । उहाले आफु खुशी हुने जनता खुशी हुने काम गर्न पनि सुझाव दिनुभयो ।
तपाईहरु पहिला आफैले राजस्व संकलन गरेपछि मात्रै तलब भत्ता व्यवस्था गर्नुहोस्, सरकारले पठाएको पैसाले तलब भत्ता खाने काम नगर्नु होला, उहाको भनाई थियो ।
दुई दिन सम्म चल्ने अभिमुखीकरणमा प्रदेश नम्बर पाँच बाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख , गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा पालिका नजितेका स्थानबाट दुई दुई जना निर्वाचित वडा अध्यक्षहरुको सहभागिता रहेको एमालेका उपमहासचिव एव प्रदेश नम्बर पाँचका संयोजक विष्णु पौडेलले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा विषय विज्ञहरु नेपाल राष्ट्र बैकका पूर्व गर्भनर युवराज खडिवडा, पुननिर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञावाली, राज्य पुनर्संरचना आयोगका पूर्वअध्यक्ष बालानन्द शर्मा पौडेल लगायतले प्रशिक्षण दिनुहुनेछ ।



